डोल्पा । हिमाली जिल्ला डोल्पामा रहेको ठूलीभेरी नदीमा पानीको बहाव यस वर्षकै उच्च देखिएको छ । तीन दिनदेखिको अविरल वर्षाका कारण ठूलीभेरीमा पानीको बहाव उच्च भएपछि सदरमुकाम दुनैसहित नदी तटीय क्षेत्र बाढीको उच्च जोखिममा परेका छन् ।
ठूलीभेरीमा पानीको बहाव बढ्न थालेपछि जिल्ला सदरमुकाम दुनै, भित्ती, त्रिपुराकोट बगर, खदाङ, करोपगाड, रुकुमको त्रिवेणी, मनकाबगरलगायतका बजार बाढीको उच्च जोखिममा रहेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिए । पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रमा बसोवास गर्दै आएका स्थानीय त्रसित भएको बुढाले बताए ।
बजारवासीले हिउँदको समयमा भेरीको किनारा मिचेर बनाएका घर, टहरा र शौचालयहरू बनाएपछि जनधन क्षतिको जोखिम थप भएको उनले बताए । दुनै बजार भेरीको जोखिममा मात्र नभइ पहिरोको जोखिममा समेत उत्तिकै रहेको स्थानीय हिमाल क्षेत्रीले बताए । जथाभावी खनिएका सडकका कारण पहिरो खतरा रहेको उनको भनाइ छ ।
केही वर्षअघि सदरमुकाम दुनै जोगाउनका लागि बनाइएको मेसिनरीवालले केही हदसम्म भए पनि सुरक्षा दिएको छ । लगातारको वर्षाका कारण भेरी नदीको बहाव निरन्तर बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय डोल्पाले आग्रह समेत गरेको छ ।
देशभरि नै बाढीले क्षति पुर्याइरहेका बेला डोल्पामा त्यस्ता अप्रिय घटना हुन नदिन र भइहालेको खण्डमा उद्धार तथा राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन समिति तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी भूमिश्चर पोख्रेलले जानकारी दिए । उनले गाउँघरमा त्यस्ता घटना भइहाले तुरुन्तै स्थानीय सरकार, प्रहरी र प्रशासनलाई खबर गर्न आग्रहसमेत गरेका छन् ।