हुम्ला । अविरल वर्षाका कारण काठे पुल बगाउँदा हुम्लामा आवत–जावतमा समस्या भएको छ । हुम्लाको सिमकोट गाउँपालिका वडा ८ को गाउँ जोड्ने काठेपुल आइतबार रातिको वर्षासँगै आएको पहिरोले पुल बगाउँदा आवत–जावत गर्न समस्या भएको हो ।
आइतबार रातिको वर्षाले गाउँदेखि सदरमुकाम जोड्ने मेलगाडको काठको पुल बगाउँदा समस्या भएको सिमकोट गाउँपालिका वडा ८ का स्थानीय हस्त शाहीले बताए । पुल काठको भएपनि गाउँलेले यो वर्ष नयाँ बनाएका थिए ।
यो वर्षनै खोलामा पानीको वहाव बढेर पूर्ण रुपमा पुल बगाएपछि सदरमुकामसँगै उत्तरी नाम्खा गाउँपालिका र हुम्लाको सीमाना चीन जानपनि समस्या भएको चीन जान लागेका एक पैदल यात्रीले बताए । सो काठे पुल सिमकोट वडा ८ का तीन वटा गाउँ याङगु, साँता, लिगुडेखेत गाउँ जोड्ने पुल हो ।
त्यस्तै चीन जाने हुम्लाका चार गाउँपालिका ताजाकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकाका नागरिकलाई पनि उक्त पुल पहिरोले बगाउँदा समस्या भएको छ ।
सोमबार मात्र चंखेलीका गाउँपालिकाका दुई जना नागरिक चीन जान आएको भएपनि पुल नहुँदा फर्किएको सो स्थानमा होटल व्यवसाय गर्दै आएका गोर्ख बहादुर शाहीले बताए । पुल पहिरोले बगाउँदा सदरमुकाम सिमकोट कामकाजको लागि जान पनि करिब चार घण्टाको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।