सुर्खेत । प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोक्किएर धेरै दुर्घटना भएको कारण हवाई सुरक्षा नीति अनुसार मनसुन अवधिभरका लागि प्रतिवन्ध लगाएको स्पष्ट पारेको हो । प्राधिकरणले कर्णालीका विमानस्थलहरुमा पूर्णरुपमा हवाई उडान प्रतिवन्ध लगाएको नभएर बढी हावा चल्ने समय १२ बजेपछि उडान गर्न नदिएको जानकारी दिएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोकिएर धेरै दुर्घटना हुने गरेकाले दुर्घटना न्युनिकरण गर्नका लागि यस्तो निर्णय गरेको बताए । उनले विमानस्थलहरुलाई आइएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने साउन १९ गते प्राधिकरणले निर्णय गरेको बताए ।
उनले जल तथा मौसम विज्ञान विभागको अध्ययन र विमानस्थल निर्देशिका २०७९ अनुसार बिहानको समय उडान भर्ने र अन्य समयमा उडान गर्दा साँझ हुँदा पाइलटहरुलाई काठमाडौं,नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको बताए । उनले मनाङ एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले सधै भरको लागि नभइ मनसुन अवधिभरका लागि मात्रै बन्द गरिएको बताए ।
उनले भिएफआर उडान हुने पहाडी क्षेत्रका विमानस्थलहरु तत्काल आइएफआर गर्ने सम्भवना नभएको बताए । उनले कर्णालीमा उडानको लागि बिहान कहिलेकाहीँ मौसम बिग्रेर उडान नहुने र धेरै पानी परेकाले गर्दा प्राधिकरणले तोकेको समयमा उडान नहुँदा समस्या भएको बताए ।