
फाइल तस्बिर
कुलेन्द्र शाही, सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ की कमला सिंहलाई गत जेठमा सुत्केरी व्यथाले च्याप्यो । उनी वडा नम्बर २ को आधारभूत स्वास्थ्य सेवा केन्द्र गइन् । उक्त सेवा केन्द्रमा उनलाई सुत्केरी गराउने सम्भव नभएपछि सामान्य उपचार पश्चात् वडा नम्बर–१ को बड्कुले स्वास्थ्य चौकीमा पठाइयो । उनी त्यहाँ पुग्न नपाई बाटोमै सुत्केरी भइन् ।
यस्तै, वडा नम्बर २ कै गीता दमाईले पनि घरमै बच्चा जन्माइन् । उनले गत असार २१ गते घरमै बच्चा जन्माएकी हुन् । सोही ठाउँकै सपना नेपालीले पनि छोरीलाई घरमै बच्चालाई जन्म दिइन् । उनले गत चैत १३ गते घरमै बच्चा जन्माएकी हुन् । उनले दुस्ख व्यक्त गरिन्, ‘विकट ठाउँका भइहाल्यौँ, गाडी मोटर चल्ने भए अस्पताल लैजान्थ्यौँ ।’ उनले थपिन, ‘कोही घाँस काट्दै त कोही दाउरा काट्दै गर्दा बच्चा जन्माउनुभएको छ ।’
यी त यहाँका पात्र मात्रै हुन् । जाजरकोटका अधिकांश महिलाहरू घरमै सुत्केरी हुने गरेका छन् । यहाँका दुर्गम वडाका सत प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । कतिपयलाई सुत्केरीको अन्तिम अवस्थामा पुगेपछि भने हेलिकप्टर मार्फत अन्य ठाउँमा रिफर गर्ने गरिएको छ । कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउनु, स्वास्थ्य सेवा पहुँचबाट विमुख जस्ता समस्याले अधिकांश आमाहरूको ज्यान निकै जोखिममा पर्दै गएको छ ।
त्यहाँ वर्थिङ सेन्टर नहुँदा महिलाहरूले ठुलो समस्या भोग्ने गरेका छन् । निर्वाचनको बेला उम्मेदवारहरूले जति नै आश्वासन दिए पनि महिलाको समस्या ज्युँका त्युँ छन् । जुनिचाँदे गाउँपालिकाकै दुर्गम वडा मानिने वडा नम्बर २ मा वर्थिङ सेन्टर नहुँदा यहाँका महिलाले जोखिम मोलेर घरमै बच्चा जन्माउँदै आएका छन् । उक्त गाविसको वडा नम्बर २ को आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी सुनकेशा शाहीले बर्थिङ्ग सेन्टर भए पनि दक्ष जनशक्ति नहुँदा महिलाले घरमै बच्चा जन्माउने गरेको बताइन् ।
गर्भवती महिलाले समस्याले लिएर स्वास्थ्य केन्द्रमा पुग्ने गरे पनि दक्ष जनशक्ति नहुँदा बाहिर लिन सुझाव दिने गरेको उनले बताइन् । भौगोलिक विकटताले दुर्गमका महिला सुत्केरी व्यथा लागे पछि बर्थिङ्ग सेन्टर आउँदै गर्दा बाटोमै बच्चा जन्माउनु पर्ने बाध्यता रहेको उनको भनाई छ । ‘वर्थिङ सेन्टर छ, तर दक्ष जनशक्ति छैनन्, कोही घरमै बच्चा जन्माउँछन्, कोही बाटोमा, गर्भवती महिलालाई धेरै समस्या छ,’
उनले भनिन्, ‘समस्या ठुलो भए गर्भवती महिलालाई स्टेचरमा बोकेर, स्वास्थ्य चौकीमा लिन्छौ, स्वास्थ्य चौकी धेरै टाढा छ, करिब २ घण्टा बढी समय लाग्छ, बाटो पनि खराब छ ।’ उनले थपिन्, ‘गाउँका स्वास्थ्य चौकीमा चिकित्सक र औषधिको अभावले सामान्य उपचार पनि हुन सक्दैन । कोहीले घरमै बोलाउनुहुन्छ, हामीसँग सामाग्री हुन्न।’
यता वडा नम्बर दुईका वडा अध्यक्ष रामबहादुर विकले वडामा बर्थिङ्ग सेन्टर भए पनि स्वास्थ्यकर्मी नभएको हुँदा महिलाहरूले घरमै बच्चा जन्माउनुपर्ने बाध्यता भएको बताए । उनले बर्थिङ्ग सेन्टर तथा अन्य सामान भएको बताउँदै पालिकाले स्वास्थ्यकर्मी राख्न तर्फ कुनै पनि चासो नदिएको बताए । ग्रामीण क्षेत्रमा बाह्रै महिना गाडी नगुड्ने भएकाले पनि अन्य ठाउँमा जान निकै समस्या भएको बताए ।
‘हाम्रो वडामा गत वर्ष १५ लाख बजेटमा वर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र)का लागि भवन बनाएको छ, तर जनशक्ति छैन, यहाँका सुत्केरी महिलाहरू वडा नम्बर १ को स्वास्थ्य चौकीमा जान्छन्, कोही अस्पताल जानुको साटो घरमै बच्चा जन्माउँछन्’,वडा अध्यक्ष विकले भने। आफ्नै टोलमा प्रसूति सेवा केन्द्र दिए सबैलाई दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउन सकिने एक स्थानीय महिला बताउँछिन्।प्रसूति सेवा केन्द्र निर्माण गरेको एक वर्ष बढी भइसक्यो अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।
प्रसूति सेवा केन्द्र सञ्चालन नहुँदा यहाँका २ सय भन्दा बढी महिलाहरूले घरमै बच्चा जन्माएको तथ्याङ्क छ । यता, गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाहीले वडामा बर्थिङ्ग सेन्टर सञ्चालनको लागि जिल्ला स्वास्थ्य कार्यालयबाट मान्यता प्राप्त गर्नुपर्ने कार्यविधि रहेको बताउँदै प्रसूति सेवा केन्द्रले मान्यता नपाएको हुँदा वर्थिङ्ग सेन्टर सञ्चालनमा नआएको स्वीकार गरे । उनले साबिकका ४ वटा वडामा मात्रै वर्थिङ्ग सेन्टर भएको बताए ।
उनले यही चालु आर्थिक वर्षमै सकेमा सबै नत्र २ वडामा वर्थिङ्ग सेन्टर सञ्चालन गर्ने प्रतिबद्धता जनाए। उनले वर्थिङ्ग सेन्टर नभएका वडामा वर्थिङ्ग सेन्टर सञ्चालन गर्नका लागि गत फागुन चैतमा जिल्ला स्वास्थ्य कार्यालयलाई सिफारिस गरेको जानकारी दिए । उनले भने, ‘ वथिङ्ग सेन्टर नभएका ठाउँमा हामीले अनुगमन गरी गत फागुन चैत्र मै स्वास्थ्य कार्यालय जाजरकोटलाई यी वडामा पनि वर्थिङ्ग सेन्टर सञ्चालन गर्नुपर्ने भएकाले मान्यता उपलब्ध गराइदिनु भनेर सिफारिस गरिसकेका छौँ।
तर, अहिलेसम्म केही जवाफ आएको छैन। वर्थिङ्ग सेन्टर सञ्चालन गर्न जिल्ला स्वास्थ्य कार्यालयबाट मान्यता प्राप्त गर्नुपर्ने रहेछ। मान्यता प्राप्त गरेपछि स्वास्थ्य संस्थाले नै तालिम दिएर जनशक्ति खटाउने रहेछ, सायद यही वर्षमै सञ्चालन हुन्छ होला।’