
सुर्खेत । मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन (मोहन थकाली) पोखरामा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय, बैदामको टोलीले बिहीबार पोखरा–८ सिर्जनाचोकस्थित लक्ष्मी होटलमा तास खेलिरहेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिएको थियो ।
ती ७ जनामध्ये एक गाउँपालिका अध्यक्ष लालचन पनि हुन् । घरपझोङ–२ घर भएका ५८ वर्षीय उनको साथबाट प्रहरीले ५६ हजार ७५० रुपैयाँ बरामद गरेको थियो । अध्यक्ष लालचन मुख्यमन्त्री कार्यालय, गण्डकीले गत ३ र ४ भदौमा पोखरामा गरेको नवप्रवर्तन साझेदारी कार्यक्रमको समीक्षा कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए ।
उनी बिहीबार फर्कने भने पनि फर्किएका थिएनन् । गाउँकै आफन्तको होटल भएकाले पोखरा नै बसेका थिए र त्यहीँ तास खेलिरहेका थिए । यो खालबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ र ४ बुक तास बरामद गरेको थियो ।
जुवा खालबाट अध्यक्ष लालचनसहित होटल सञ्चालक घोरपझोङ–२ घर भएका ५७ वर्षीय इन्द्रबहादुर हिराचन, सोही ठाउँका ४६ वर्षीय नबिनप्रसाद थकाली, पोखरा महानगरपालिका–८ सृजनाचोक बस्ने ६३ वर्षीय शंकर ज्वारचन, पोखरा–९ महेनद्रपुल बस्ने ५३ वर्षीय गुन्ज हिराचन, पोखरा–१० रामबजार बस्ने ५२ वर्षीय राजु गुरुङ र रामबजार नै बस्ने ५९ वर्षीय दलबहादुर हिराचन पक्राउ परेका छन् ।
कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान थालेकाले को–को पक्राउ परे भन्नेबारे आफूलाई थाहा नभएको बताए । वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जुवाखालबाट केही व्यक्ति पक्राउ परेको र उनीहरूबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
उनले भने, ’ पक्राउ पर्नेको समूहमा पालिका प्रमुख पनि रहेको सुनिए पनि अनुसन्धानका क्रममा रहेकोले अहिले केही भन्न सकिन्नँ ।’ लालचन २०७९ वैशाखको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई २ मतले हराएर अध्यक्षमा निर्वाचित भएका थिए ।