
मुख्यमन्त्री राजकुमार शर्मा
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा भदौ १४ गते स्वीट्जरल्याण्डको भ्रमणमा जाने भएका छन् । मुख्यमन्त्री शर्मा अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा स्वीट्जरल्याण्डमा हुने कार्यक्रममा सहभागी हुनका लागि त्यसतर्फ जान लागेका हुन् ।
कार्यक्रम सेप्टेम्बर १ र २ मा हुँदै छ । शर्माले शुक्रवारको संसदमा आफु स्वीट्जरल्याण्ड भ्रमणमा जाने जानकारी दिएका हुन् । वित्तीय, सामाजिक, मानवता, निजी, सहकारी, समुदाय र हरित कार्यक्रम समेटिएको सो सेमिनारमा कर्णाली सरकारसँग सहकार्यकाबारे छलफल हुने उनले बताए ।
त्यसका लागि संघीय सरकारबाट अनुमति लिइसकिएको पनि उनले सुनाए । संघीय सरकारको निर्णयअनुसार भ्रमणका लागि स्वीकृत प्राप्त भइसकेको छ । स्वीट्जरल्याण्ड भ्रमण कर्णालीमा लगानी भित्र्याउने, रोजगारीको सिर्जना गर्ने तथा समृद्धिको कार्यक्रमलाई अगाडि बढाउने सन्दर्भसँग जोडिएको उनको भनाई छ । साथै शर्माले कर्णालीमा लगानी भित्र्याउनका लागि विभिन्न पहलहरू भइरहेको समेत बताए ।