
रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका उप–प्रमुखले सोही नगरपालिकाका कर्मचारीलाई कुटेका छन् । शनिबार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काको कार्यकक्षमा कार्यालयकै काम गरिरहेको बेला शिक्षा शाखा प्रमुख नरेन्द्र ओलीमाथि उप–प्रमुख बिमलकुमार पुनले हातपात गरेका हुन् ।
मुसिकोटको वडा नम्वर १ मा रहेको त्रिभुवन जनता माध्यामिक विद्यालयको उच्च माध्यामिक तहको लेखा विषयको शिक्षक पदपुर्तीको लागि आवश्यक काम भईरहेको बेला परिक्षा रोक्न भन्दै आउनुभएका नगर उप–प्रमुखले आफूमाथि हातपात तथा दुव्र्यवहार गरेको शिक्षा शाखा प्रमुख ओलीले जानकारी दिए ।
ओलीले भने, “विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसी, प्रधानाध्यपक गोपिराम केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनारम खड्का र म बसेर परिक्षाको तयारीमा जुटेका थियौ, उप–प्रमुख एक्कासी छिर्नुभयो, उहाँले मेरो र प्रधानाध्यापकको हातमा रहेको कागजात खोसेर मलाई हातपात गर्नुभयो । आफुलाई नगर उप–प्रमुखले दुई झापड हानेको ओलीको आरोप छ ।
आफुलाई कार्यसम्पादनकै क्रममा उप–प्रमुखले हातपात गरेकाले आफुले कानुनी उपचार खोज्ने उनले बताए । यस बिषयमा मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काले आफ्नै कार्यकक्षमा कर्मचारीमाथि उपप्रमुखबाट हातपात भएको बताए । परीक्षा निश्पक्ष र मर्यादित बनाउने गरेर तयारी भईरहेको बेला उपप्रमुखबाट दुव्र्यवहार भएको उनको भनाई छ ।
शनिवार नै शिक्षक पदपूर्तिको लागि परिक्षा हुने भनिएको थियो । त्रिभुवन जनता उच्च माविका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले शिक्षक पदपूर्तिको लागि तोकिएको परीक्षा स्थगित गरिएको जानकारी दिए । उनले उक्त परिक्षा अर्को सूचना जारी नभए सम्मका स्थगित गरिएको बताए । यस बिषयमा प्रतिक्रिया लिन उपप्रमुख पुनलाई सम्पर्क गर्दा उनको फोन उठेन ।