२०८३ वैशाख ११ , शुक्रबार

सरकारी गाडी नै ‘फलो’ गर्दैनन् ट्राफिक नियम



तस्बिर सामाजिक सञ्जालबाट

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले पछिल्लो समय पार्किङ निषेधित क्षेत्रमा राखिएका सवारीसाधनमाथि कडाइका साथ कारबाही गर्दै आएको छ । आइतबार प्रहरीले एक सरकारी गाडीलाई कारबाही गरेको छ । प्रहरीले सल्यानको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको सरकारी गाडीलाई कारबाही गरेको हो । कार्यालय प्रमुख गोविन्दबहादुर महत चढेको बा २ झ २०४४ नम्बरको गाडीलाई कारबाही गरेको हो ।

 

वीरेन्द्रनगर नगरपालिका–६ तल्लो बजारको सडक छेउमा अनधिकृत रूपमा पार्किङ गरिएको महतको गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक क्लाम्प’ लगाएको हो । ट्राफिक प्रहरीले ‘नो पार्किङ’ क्षेत्रमा राखिएको गाडीलाई कारबाही स्वरूप ह्वील लक लगाएको स्रोतले बताएको छ । उक्त गाडीका चालकले ५ सय रुपैयाँ जरिवाना तिरेपछि छाडिएको ट्राफिक प्रहरीले जनाएको छ । गाडीमा प्रमुख महत भने सवार नभएको गाडी चालक धन बहादुर विकले बताए । गाडी चालक विकले आफूले अन्जानमा नो पार्किङमा गाडी पार्किङ गरेको बताए ।

 

उनले थाहा नपाएर नो पार्किङमा गाडी पार्किङ गरेको बताउँदै प्रहरीलाई कारबाही नगर्न आग्रह गर्दा पनि प्रहरीले कारबाही गरेको बताए । ‘मैले अन्जानमा गल्ती गरेको हो, तर पनि प्रहरीसँग गल्ती भयो एक पटकलाई छोड्दिनु भनी धेरै अनुरोध गरे ।’ उनले भने ‘तर, पनि उहाँले मान्नु भएन, कति न ठुलै गल्ती गरेको जस्तो मान्छे नै मारेर फरार रहेको जस्तो गर्नुभयो, आखिर त्यहाँ त धेरैले पार्किङ गरेका थिए, उहाँहरूलाई प्रहरीले किन कारबाही गरेन भन्दै उनले प्रतिप्रश्न गरे ।

 

उनले कारबाही बापत ५ सय रकम जरिवाना समेत तिरेको स्वीकार गरेका छन् । सरकारी गाडी नै कारबाहीमा परेपछि सामाजिक सञ्चालमा विभिन्न टीकाटिप्पणी गर्नेको लर्को लागेको छ । ट्राफिक प्रहरीले प्रमुख महतको गाडीमा ह्वील लक लगाउँदै गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रमुख तथा सरकारी कार्यालयको आलोचना गर्नेहरूको भीड लागेको छ । ‘नो पार्किङ’ लेखिएको सडक किनारमै आफूखुसी सवारी साधन पार्किङ गरिँदा त्यसले वीरेन्द्रनगरको शोभा बिगार्नुका साथै साँघुरो सडक, त्यसमाथि किनारमै राखिएका सवारी साधनले झनै दुर्घटनाको जोखिम बढाएको स्थानीय व्यवसायीहरूको गुनासो छ ।

 

यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख देवेन्द्र बुढाथोकीले जानी-जानी नो पार्किङ स्थलमा गाडीहरू पार्किङ गरेको बताएका छन् । उनले खबरदृष्टिसँग कुराकानी गर्दै जानी-जानी नो पार्किङमा गाडी पार्किङ गरेको बताए। ‘मान्छेहरू जानी-जानी गल्ती गर्छन्, नेपालमा गल्ती गरे पनि केही हुँदैन भन्ने सोच छ। आइतबार कारबाहीमा परेका गाडी चालकले पनि त्यही सोच अनुसार गर्नुभएको हो,’ उनले भने

 

उनले वीरेन्द्रनगरमा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनधिकृत पार्किङलाई निरुत्साहित गर्न पछिल्लो समयमा सवारीसाधनमाथि कडाइका साथ कारबाही गर्दै आएको बताए । ‘बाटोमा जथाभाबी पार्किङ गरेर हिँड्ने सवारी साधनलाई कारबाहीस्वरुप ह्वील लक लगाएर कारबाही गर्ने गरेका छौँ,’ उनले भने । प्रहरीले सडकलाई अवरोध पु¥याउने गरेर जथाभाबी रूपमा पार्किङ गर्ने सवारी साधनलाई ह्वील लकसँगै ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म जरिवाना गर्दै आएको छ ।

सल्यानको गाडी सुर्खेतमा कसरी  प¥योे कारबाहीमा 

सुर्खेत वीरेन्द्रनगरमा आइतबार एक कार्यक्रम थियो । सोही कार्यक्रममा सहभागी कार्यालय प्रमुख महत वीरेन्द्रनगर आएका थिए । महत वीरेन्द्रनगरको एक होटेलमा भएको कार्यक्रममा व्यस्त भए । ‘प्रमुख सर र हामी सुर्खेत आएका थियौँ, प्रमुख सर शुभ होटेलमा भएको कार्यक्रममा बस्नुभयो। म हाम्रा अफिसका २ जना स्थायी कर्मचारीको सम्पत्ति विवरण बुझाउन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गएपछि औषधी किन्न अस्पताल गए । त्यहाँ जाँदा प्रहरीले गाडीमा ह्वील लक लगाउनु भएछ,’ उनले भने। यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ । 

प्रकाशित मिति : २०८० भदौ १२ गते मंगलबार