२०८३ वैशाख ११ , शुक्रबार

सुर्खेतमा बिहीवार समाजवादी मोर्चाको ‘सन्देश सभा’

प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु आउने


सुर्खेत । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित समाजवादी मोर्चाका शीर्ष नेताहरु सुर्खेत आउन लागेका छन् । भदौ १४ गते बिहीबार वीरेन्द्रनगरमा हुने समाजवादी मोर्चाको ‘सन्देश सभा’लाई सम्बोधन गर्न शीर्ष नेताहरु सुर्खेत आउन लागेका हुन् ।

 

बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सुर्खेत आउन लागेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।

 

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका विशेषताहरु पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने मोर्चाको उद्देश्य रहेको अध्यक्ष केसीको भनाइ छ । कार्यक्रमको आयोजना वीरेन्द्रनगरको सिटीहलमा गरिएको छ । बिहीबार बिहान ११ बजेबाट कार्यक्रम शुरु हुने र प्रधानमन्त्री प्रचण्डसहितका शीर्ष नेताहरुले सोही दिन सभालाई सम्बोधन गर्ने समय तालिका तय भएको छ ।

प्रकाशित मिति : २०८० भदौ १३ गते बुधबार