
आशा विक, रुकुम पश्चिम । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थीलाई प्रहरीले रुकुमपश्चिमको चौरजहारीबाट पक्राउ गरेको छ । मंगलबार यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले सञ्चालन गरेको लाइसेन्सको परीक्षामा सहभागी भएका मुसिकोट नगरपालिका–१ का २७ वर्षिय प्रेम ददेललाई प्रहरीले पक्राउ गरेको हो ।
यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका अनुसार ददेल मुसिकोट नगरपालिका १ का विकल्प शाहको नाममा प्रयोगात्मक परीक्षामा सहभागी भएका थिए । ए, के र बी वर्गको लाइसेन्सका लागि चौरजहारी नगरपालिका–२ स्थित ट्रायल सेन्टरमा प्रगोगात्मक परीक्षा भइरहेको बेला शाहको नाममा ददेल अनधिकृतरुपमा परीक्षामा सहभागी भएको पाइएको यातायात व्यवस्था सेवा कार्यलय चौरजहारी जनाएको छ ।
परीक्षा सञ्चालनको क्रममा हाजिरी गर्दा शाह आफैंले गरेका थिए भने मोटरसाइकल लिएर प्रयोगात्मक परीक्षा दिन जाँदा उनकै नाममा ददेल सहभागी भएका थिए । ट्रायल पास गरेर भेरिफाइ गर्ने बेलामा नागरिकता र प्रवेशपत्र जाँच गर्ने क्रममा भने अनधिकृत व्यक्तिले परीक्षा दिएको खुलेको थियो । अनधिकृतरुपमा परीक्षामा सहभागी भएका ददेललाई पक्राउ गरेर अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ ।