२०८३ वैशाख ११ , शुक्रबार

सिम्तामा बिरामी बोक्ने स्ट्रेचरको अभाव



बिरामीलाई अस्पताल लग्दै गरेको तस्बिर

कुलेन्द्र शाही, सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाका विभिन्न ठाउँमा यातायातको सुविधा नहुँदा बिरामीलाई बोकेरै स्वास्थ्य संस्थासम्म लैजानु पर्ने बाध्यता छ । पहिरोले ग्रामीण सडकहरू अवरुद्ध भएको कारण सडक बन्द भएपछि बिरामीहरूलाई स्ट्रेचर तथा पिठ्यूँमा बोकेर अस्पताल लैजाने र अस्पतालबाट घर लैजानु पर्ने अवस्था छ।

ठाउँ–ठाउँ गएको पहिरो र खाल्डाखुल्डीले गर्दा सडकमा गाडी चल्न सकेका छैनन् । सवारी चलाउन मात्रै नभएर हिँडडुल गर्न समेत समस्या छ । बिरामीलाई बोकेर अस्पताल लानुपर्दा बाटैमा बिरामीको ज्यान जाने जोखिम रहेको स्थानीयहरूले गुनासो गरे । बाटो मात्रै होइन सिम्ताका अधिकांश ठाउँमा स्ट्रेचरको समेतको अभाव छ ।

गत साउन २९ गते सिम्ता गाउँपालिका वडा नम्बर १ गान्द्राकी शर्मिला राणालाई सुत्केरी व्यथाले च्याप्यो । उनलाई सुत्केरी व्यथाले च्यापेपछि स्वास्थ्य इकाई खनेटा लिने तयारी गरियो । स्वास्थ्य इकाई लिनको लागि मान्छेहरू जम्मा पनि भए । तर, गाउँमा उनलाई बोकेर लैजाने स्ट्रेचर पाइएन ।

धेरै बेरसम्म स्ट्रेचर खोज्दा पनि नपाइएपछि वडाले एक वर्ष पहिले वितरण गरेको पुरानो भाँचिएको स्ट्रेचरलाई डोरीले बाँधेर स्वास्थ्य संस्थामा पु¥याइयो । स्वास्थ्य संस्थामा पु¥याएपछि उनको बच्चा जन्मियो । बच्चा जन्मिएपछि उनलाई घर लैजाँदा कसरी लिने भन्ने समस्या भयो । फेरी पनि उनलाई यही भाँचिएको स्ट्रेचरमा राखेर घरमा ल्याइयो ।

राणा एक प्रतिनिधि पात्र मात्रै हुन् । यो समस्या त्यहाँका धेरै स्थानीयहरूले भोग्दै आएका छन्। अहिले सिम्ताका अधिकांश ठाउँमा बिरामी बोक्ने स्ट्रेचरको अभाव छ । बिरामी भएर छटपटाइरहेका व्यक्तिहरूलाई उपचारका लागि स्वास्थ्य संस्था लिन स्ट्रेचरको खोजी गर्दा गाउँमा स्ट्रेचर नपाइने गरेको एक स्थानीय बताए ।

वडाका स्वास्थ्य संस्थामा औषधि त परको कुरा बिरामी बोक्न स्ट्रेचरसमेत नभएको उनको गुनासो छ ।स्थानीय सरकार आएपछि गाउँमा सहज अवस्था हुने आशामा रहेकाहरू बिरामी हुँदा उपचार त के सामान्य स्ट्रेचरसम्म नपाउने अवस्था आएको गुनासो गर्छन् । गाउँ टोलमा स्वास्थ्य संस्थाबाटै बिरामीलाई सेवा दिनुपर्ने अवस्थामा बिरामी बोक्ने स्ट्रेचर नपाउँदा डोको तथा पिठ्युँमा राखेर उपचारका लागि स्वास्थ्य संस्थासम्म पुर्‍याउनुपर्ने बाध्यता छ ।

पटक पटक सम्बन्धित निकायलाई स्ट्रेचर माग गरिए पनि सुनुवाइ नभएको स्थानीयहरू बताउछन्। यता, सिम्ता गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष यामराज शर्माले एक वर्ष पहिले स्ट्रेचर बाडेको र त्यो स्ट्रेचर पुरानो भएपछि बिरामीले त्यही स्ट्रेचरमै बिरामी बोक्ने गरेको बताए । उनले वडालाई स्ट्रेचर उपलब्ध गराइदिनको लागि पालिकाको स्वास्थ्य शाखामा जानकारी गराएको भए पनि शाखाले नै चासो नदिएको गुनासो गरे ।

यसबारेमा बुझ्न खोज्दा सिम्ता गाउँपालिकाका स्वास्थ्य शाखाका वीरेन्द्र पुनले केही अगाडि मात्रै उक्त वडामा स्ट्रेचर पठाएको जानकारी दिए । उनले हालसम्म वडा नम्बर १ बाट मात्रै स्ट्रेचर अभाव भएको गुनासो आएकोले उक्त वडामा स्ट्रेचर पठाइसकेको बताए । उनले अबको केही दिनमा महिला स्वयमसेविकाहरुसँग आधिकारिक रिपोट मागेर अन्य वडाहरूमा पनि आवश्यकता अनुसार स्ट्रेचर उपलब्ध गराउने प्रतिबद्धता जनाए।

उपाध्यक्ष गोमा शर्मा (रेग्मी)ले स्ट्रेचर वितरणको लागि पालिकाबाट पहल भइरहेको बताइन् । उनले वडाबाट स्ट्रेचर अभाव भएको भनी कुनै पनि जानकारी नआएको हुँदा यसबारेमा नसोचिएको बताइन् । उनले सिम्ताका सबै वडाबाट स्ट्रेचरको लागि आधिकारिक रिपोर्ट आएपछि नपुग सबै वडाहरूमा स्ट्रेचर उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् ।

प्रकाशित मिति : २०८० भदौ १४ गते बिहीबार