सुर्खेत । आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्या भोग्दै आएकी लेकवेशी नगरपालिका–६ की आशिका बाँकाबललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कर्णाली प्रदेश कार्यालयले सहयोग गरेको छ । हाल वीरेन्द्रनगर–१२ बस्दै आएकी २२ वर्षीय उनलाई कानुनी प्रक्रियामा जानका लागि आर्थिक सहयोग गरिएको हो ।
४० वर्षीय पति मनिष थापा मगरले आफूलाई पटक पटक शारीरिक तथा मानसिक यातना दिँदै आएको पीडितको गुनासो छ । कोभिडको समयमा मनिषले जबरजस्ती विवाह गरे पनि पछि घर परिवारसँग मिलेर आफूलाई विभिन्न लाञ्छना लगाउन थालेको पीडितको भनाई छ ।
आफूलाई पटक पटक सासूले अपमान गर्नुको साथै सम्बन्ध विच्छेदको धम्की दिने र खान लाउन नदिएको भन्दै पीडितले जिल्ला अदालत सुर्खेतमा भदौ १ गते अंश र खाना खर्चसहित सम्बन्ध विच्छेदको जाहेरी दिएकी थिइन् । उनले माइती पक्षको आर्थिक अवस्था कमजोर भएको र कानुनी ज्ञान नभएकाले न्याय खोज्न समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा साउन ३२ गते निवेदन दिएकी थिइन् ।
सोही निवेदनको आधारमा इन्सेकले तीन हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग गरेको इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिए । पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्रा खर्च लगायतका शीर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको प्रदेश संयोजक सुवेदीको भनाई छ ।