रुकुम पश्चिम । रुकुम कारागारमा रहेका आठ जना कैदीबन्दीको कैद मिनाहा भएको छ । नवौ संविधान दिवस २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी गरिएपछि ५० प्रतिशत कैद भुक्तान भएका आठ जना कैदीबन्दी कैदमुक्त भएको रुकुम कारागार कार्यालयका प्रमुख प्रवेश बढुवालले जानकारी दिए ।
आजबाट कैदमुक्त हुनेहरुमा रुकुम पश्चिमका पाँच जना र रुकुम पूर्वका तीन जना रहेका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-१ का गोबिन्द कामी, सोही गाउँपालिका-३ का लोकबहादुर बिक, मुसिकोट नगरपालिका-९ का शुकलाल दमाई, त्रिवेणी गाउँपालिका-७ का दिपक कुमार डाँगी र आठविसकोट नगरपालिका १२ का शुशिल डाँगी आजबाट कैदमुक्त भएका हुन् ।
त्यसैगरी रुकुम पूर्वको भूमे गाउँपालिका-६ का भविष्य केसी, सोही गाउँपालिका-१ का भाग प्रताप बुढा र वडा नम्वर ५ का कर्ण बहादुर गुरुङको बाँकि कैद मिनाह भएको रुकुम कारागार कार्यालयले जनाएको छ । कैद मिनाहा भएका आठ कैदिबन्दी मध्य रुकुम पूर्वका गुरुङ पशुपंक्षी सम्बन्धी कसुरमा र बुढा नकबजनी चोरी मुद्धामा कारागार चलान भएका थिए ।
अन्य ६ जना भने बहुविवाह मुद्धामा जेल चलान भएका थिए । ५० प्रतिशत कैद भुक्तान गरी कैदकट्टाका लागि जिल्लाबाट सिफारिस भएको आधारमा संविधान दिवसको अवसरमा उनीहरुलाई बाँकी कैद मिनाहा गरिएको हो ।