२०८३ वैशाख ११ , शुक्रबार

वीरेन्द्रनगर र छिन्चुबाट एक लाख बराबरको अवैध सामान बरामद 



फाइल तस्बिर

सुर्खेत । वीरेन्द्रनगरमा प्रहरीले अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–११ सानोब्युरेनी स्थित नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००६३ नम्बरको फोर्स गाडीलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको सामान बरामद गरेको हो ।

प्रहरीले २५ केजीको २ क्विन्टल चामल र ५० केजीको १ क्विन्टल चिनी बरामद गरेको हो । उक्त सामानको मूल्य अन्दाजी ४१ हजार ५०० बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बरामद गरेको सामान जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको र गाडीलाई गन्तव्यतर्फ छाडिएको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले भेरीगंगा नगरपालिका–१० टोलीखोलाबाट पनि अवैध सामान बरामद गरेको छ । तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको ७ जनाको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा ४ ख ६४२६ नम्बरको फोर्स गाडीलाई चेकजाँच गर्दा कुनै पनि बिल नभएको सामान बरामद गरेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।

प्रहरीले २ क्विन्टल चामल, ५ क्विन्टल चिनी, २० पाकेट ललिपप, ५९ पाकेट महेश दालमोठ बरामद गरेको प्रहरीले जनाएको छ । उक्त सामानको मूल्य अन्दाजी  ७० हजार बराबरको रहेको छ । बरामद गरेको सामान इलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको र गाडिलाई गन्तव्य स्थान तर्फ पठाइएको प्रहरीले जनाएको  छ ।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रबार