सुर्खेत । नेपाल प्रहरीले थालेको ‘सुरक्षित कर्णाली विशेष अभियान’ प्रभावकारी बन्दै गएको छ । अभियानपश्चात् नागरिक समस्याका सूचना सहजै प्रहरीसम्म पुग्न थालेका छन् । कर्णाली प्रदेश सरकारको समन्वयमा प्रदेश प्रहरी कार्यालय सुर्खेतले चार महिना अघि सुरुवात गरेको अभियानले प्रहरीसम्म जनताको सहज पहुँच विस्तार भएको छ ।
खासगरी कर्णालीको सुरक्षा व्यवस्थालाई सुदृढ गर्न र यहाँका नागरिकको शान्ति सुरक्षाको अवस्थालाई मजबुत पार्न ‘सुरक्षित कर्णाली विशेष अभियान’ थालिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशमा एक लाख ६० हजारभन्दा बढी घरधुरीमा स्टीकर टाँसी सकिएको छ ।
यसले सूचना सङ्कलन गर्न तथा शान्ति सुरक्षालाई थप व्यवस्थित बनाउन सहयोग मिलेको छ । प्रदेश प्रहरीले कर्णाली प्रदेशका दुई सय स्थानमा ट्राफिक सचेतना बोर्ड र प्रदेशका २९ स्थानमा डमी ट्राफिकसमेत राखिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताए ।
त्यसैगरी, प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी गण, प्रदेश ट्राफिक कार्यालयको निरीक्षण गर्न सुर्खेत आइपुगेका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले प्रदेश सरकारसँगको समन्वयमा प्रारम्भ गरिएको ‘सुरक्षित कर्णाली विशेष अभियान’ प्रशंसायोग्य भएको बताए।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले कर्णालीमा प्रहरीको दरबन्दी कम हुँदाका बाबजुद पनि प्रहरीले राम्रोसँग काम गरिरहेको बताए ।