
कुलेन्द्र शाही, सुर्खेत । मुगु जिल्ला सदरमुकाम गमगढीमा शुक्रवार राती आगलागी हुँदा ८ घर सहित ९ पसल जलेर खरानी भए । राती १२ बजे गमगढी बजारको कृष्णचोक हुँदै न्युरोड जाने सडकको छेउमा पर्ने घर तथा पसलहरू जलेर खरानी भएका हुन । प्रहरीकाअनुसार आगलागीबाट पुतली मल्ल, प्रदीप रावल, पञ्च सेजुवाल, साल्तोना खत्री, जङ्ग ऐडी, सोनाम लामा र तार्के लामाका घर पदमराज मल्लको टिनको टहरा जलेर खरानी भएका हुन् ।
ती घरहरूमा विभिन्न व्यवसाय गर्दै आएका नरेश शाही कम्प्युटर पसल, पूर्णालक्ष्मी मल्ल एलपी ग्यास गोदाम, लक्ष्मी मल्ल होटेल, पदमराज मल्ल फेन्सी पसल, उद्धीम भाम होटेल, रूपदेवी बुढा तरकारी पसल, शेर बहादुर मल्ल तरकारी पसल, महम्मत साकिर कवडिया टेलर्स र सान्तराज मल्ल हेयर कटिङ व्यवसाय पनि आगलागीबाट खरानी भएका छन् ।
सदरमुकाम मुटुमा रहका घर र व्यवसाय भएकाले करोडौँको क्षति भएको छ । आगो नियन्त्रण गर्ने गमगढी बजारमा वितरित खानेपानीको प्रयोग गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरीले बिहान ५ बजे आगो नियन्त्रण लिएको थियो । प्रत्येक वर्ष मुगुमा विभिन्न विपद्ले सताइरहँदा स्थानीय त्रसित भएका छन् ।
एउटा घाउ सेलाउन नपाउँदै अर्को घाउ
२०७८ साल कार्तिक २९ गते गमगढी बजारको तल्लो बजारमा आगलागी हुँदा २१ घर ध्वस्त भएका थिए । स्थानीय ठिल्ले लामाको घरमा पूजा कोठाको दियोबाट सल्केको आगोबाट सदरमुकाम गमगढीस्थित तल्लो बजारका २१ घर जलेर खरानी भएको थिए । सो आगलागीबाट ५० करोड बढी क्षति भएको थियो ।
सोही साल असोज २७ गते पिना तपने खोलामा यात्रु बाहक बस दुर्घटना हुँदा ३३ जना र छायानाथ रारा नगरपालिका–११ सालिम गाउँमा २४ असोज २०७९ मा पहिरोले घर पुरिँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो । यसरी वर्षैपिच्छे जिल्ला भरी सयौँ जना बाढी पीडित भएको आलो घाउ सेलाउन नपाउँदै शुक्रवार पुनः आगलागी भएर करोडौँको क्षति भएपछि स्थानीय त्रसित छन् ।
दमकल नहुँदा झनै समस्या
जिल्लामा वर्षेनी आगलागीका सयौँ घटना हुने गरेका छन् । आगलागीबाट वर्षेनी करोडौँ मूल्य बराबरका सम्पत्तिसमेत नष्ट हुने गरेको छ । आगलागी भएको खण्डमा समयमै नियन्त्रण गर्न नसक्दा थप क्षति हुने देखिन्छ । त्यस क्षेत्रमा दमकल नभएका कारण आगो निभाउन खानेपानीको पाइपबाट पानी हालिएको थियो । खानेपानीको पाइपबाट पानी, माटो र बालुवा प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको हो ।
यता, छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले नगरपालिकामै एम्बुलेन्स नभएको स्वीकार गरे । उनले नगरपालिकाले विगतदेखि नै एम्बुलेन्स खरिद गर्ने भनिए पनि सबै क्षेत्रमा एम्बुलेन्स गुड्ने बाटो नभएकोले एम्बुलेन्स खरिद गर्न नसकेको बताए । उनले यस पटक भने एम्बुलेन्स खरिदको लागि टेन्डर नै आह्वान गरिसकेको बताए ।
आगलागीबाट पीडित घरधनी, व्यवसायी र घर हालवालाहरूलाई स्थानीय सरकारका नाताले तत्काल सहयोग गर्ने गरी छलफल भइरहेको बताए । तत्कालका लागी खाना र बस्नको लागी आर्थिक सहयोग गरिने र दीर्घकालका लागि घर पुनर्निर्माण गर्न पहल गर्ने पनि नगरप्रमुख भामले बताएका छन् ।
अत्यावश्यक सामान र नगद दिन्छौ : प्रजिअ थापा
मुगुका प्रमुख जिल्ला अधिकारीले मोहनबहादुर थापाले आगलागी पीडितका लागि आइतबारसम्म राहतस्वरुप अत्यावश्यक सामान तथा नगद रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन् । उनले प्रशासनले ऐन नियममा रहेर उनीहरूलाई राहत सामाग्री तथा नगद पैसा दिने बताए ।
‘हामीले अलि पहिले नै एक दुई वटा संस्थाले पीडितहरूलाई राहत सामाग्रीहरू दिनुहोला भनेर केही सामान छोड्नुभएको छ।’उनले खबरदृष्टिसँग भने, ‘त्यही सामान हामी पीडितलाई हस्तान्तरण गर्छौ, अरू हामीले गर्ने केही छैन, सकेसम्म नियमअनुसार नगद पनि दिने तयारीमा छौँ, हामीसँग स्टक सामान कम्बल, त्रिपाल, बाल्टिन जस्ता सामान छन् ।’
राहत दिएर प्रदेश सरकार भएको अनुभव दिलाउँछौ : मुख्यमन्त्री शर्मा
यता, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आगलागी पीडितलाई केही राहत दिएर प्रदेश सरकार भएको अनुभूति दिलाउने प्रतिबद्धता जनाएका छन् । उनले हालसम्म क्षतिको आधिकारिक विवरण प्रदेश सरकारमा नआएको र आएपछि राहतस्वरुप विभिन्न सामाग्री उनीहरूलाई दिने बताए ।
‘अहिलेसम्म हामीकहाँ क्षतिको विवरण आएको छैन, टोलीहरू लागिरहनुभएको छ,’ उनले खबरदृष्टिसँग भने, ‘विवरण आउन बित्तिकै सकेसम्म म लगायत हाम्रो अरु को टोली जान्छौ, यदि भएन भने पनि अन्य साथी राहत लिएरै त्यहाँ जानुहुन्छ, प्रदेश सरकार भनेकै समस्याको पहिचान गर्ने हो ।’
