सुर्खेत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ। मन्त्री आचार्यले उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा स्वागत गरेका हुन् ।
सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आएपछि भारतमा रहेको नेपाली राजदूतावास र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्थासँग समन्वय गरेर उद्धार गरिएको हो । बेचिएका किशोरीको उद्धार कार्यको जानकारी गराउँदै शक्ति समूहकी अभियानकर्मी चरिमाया तामाङले बेचबिखनमा परेकालाई स्वदेश फिर्तीको नीतिनियम र कार्यविधि नहुँदा उद्धारमा समस्या भएको बताए ।
‘स्वदेश फिर्तीको स्पष्ट नीतिनियम र कार्यविधि नहुँदा उद्धारमा समस्या परेको छ, भूकम्पका कारण धेरै बालबालिका बेचबिखनमा परेँ, त्यसपछि उद्धारमा धेरै काम गर्यौँ । दलालले दिने डर, त्रास, धम्की र प्रलोभनमा पारेर परिवारका सदस्यलाई प्रभावित पार्नेलगायतका विभिन्न समस्याले गर्दा हाम्रा काम प्रभावकारी हुन सकिरहेका छैनन्’, तामाङले भने ।
सामाजिक अभियानकर्मी इन्द्रराज भट्टराईले उद्धारका लागि अझै प्रभावकारी कदम चाल्नुपर्ने बताए । उनले बेचबिखनमा पर्न नदिनका लागि सचेतना र सतर्कता अपनाउनुपर्ने बताए ।