पुर्ण कुमार, डोल्पा । चीनसँग जोडिएका डोल्पाका २ नाका खुला गरिएको छ । आइतवार एक विज्ञप्ति जारी गर्दै चिनियाँ दूतावासले डोल्पाको सिमानासँग जोडिएका २ नाका खुल्ला गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण भइरहेको समयमा डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको दुई नाकाहरु खुल्ला गरिएको हो ।
डोल्पाको शे– फोक्सुण्डो गाउँपालिकामा पर्ने खुङला नाका र डोल्पोबुद्ध र छार्का ताङ्सोङ गाउँपालिकामा पर्ने मर्युम नाका खुल्ला गरिएको विज्ञप्तीमा उल्लेख गरीएको छ । केही समय अघि चीनसँग डोल्पाको सिमानामा रहेका नाका खुल्ला गर्नको लागि कर्णाली प्रदेशका प्रदेश सभा सदस्य एवम् पूर्वपर्यटन मन्त्री बीर बहादुर शाही, पुर्व पर्यटन राज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य धन बहादुर बुढा लगायतको टोलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको थियो ।
नाका खुला भएसगै भन्सार समेत खोल्ने विषयमा व्यापक छलफल भएको पूर्व मन्त्री शाहीले जानकारी दिए । त्यस्तै भौगोलिक हिसाबले सदरमुकाम दुनै भन्दा धेरै तथा रहेको उपल्लो डोल्पामा इलाका प्रशासनदेखि सीमा क्षेत्रमा सुरक्षा क्याम्प स्थापना गर्ने विषयमा समेत प्रधानमन्त्री सग व्यापक छलफल भइरहेको पूर्व मन्त्री शाहीले जानकारी दिए ।
उपल्लो डोल्पाका नाका खुले सगै डोल्पामा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा , कटुको, पांचऔँले जस्ता जडिबुटी बिक्री गर्न सहज हुने छ ।
