
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष केपी शर्मा ओली
कुलेन्द्र शाही, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन बुधवारबाट सुरु भएको छ । सुर्खेतस्थित वीरेन्द्रनगरको सिटी हलमा अध्यक्ष केपी शर्मा ओलीले बुधवार पानसमा बत्ती बालेर अधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा एमालेका शीर्ष नेताका साथै विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू सहभागी भएका छन् ।
अधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले नेपालमा भएका प्रायजसो सबै प्रगति आफ्नै पार्टीले गरेको आश्वासन दिँदै काठमाडौँ फर्किएका छन् । अधिवेशनमा उनी करिब एक घण्टा भन्दा बढी बोले तर, उनले त्यो समयमा अन्य पार्टीको आलोचना र आफ्नो पार्टीको प्रशंसा मात्रै गरे ।

पानसमा बत्ती बालेर अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओली
उनले पुराना पार्टी मात्र नभई नयाँ स्थापित भएका पार्टीको समेत विभिन्न आलोचना व्यक्त गरे । उनले विकास भन्ने कुरा एमाले आएपछि मात्रै जनताले देखेको बताए । ओलीले भने, ‘एमाले आयो र जनताले विकास देखे, एमाले आउनुअघि यो देशमा विकास नै देखिएको थिएन ।’
उनले अहिलेको गठबन्धन सरकार विदेशीको जालझेलमा चलेको आरोप समेत लगाए । उनले २०८४ मा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गरे । आफ्नो पार्टीलाई चौतर्फी घेराबन्दी र विरोध गरेको भए पनि एमाले पार्टी यस्तो कुरामा नअलमलिने उनको भनाई थियो । बताए । अध्यक्ष ओलीले सुन तस्करी अहिलेको गठबन्धन सरकारले बाहेक अरूले गर्दै नगरेको दाबी गरे ।
गठबन्धनले तस्करी रोक्ने होइन झन् बढाउँदै गएको उनको भनाइ थियो । ‘गठबन्धन सरकारले तस्करी रोक्छु भन्छ झन् बढाउँदै गएको छ, भ्रष्टाचार घटाउँछौँ भन्छ झन् बढाउँदै गएको छ’ उनले भने । गठबन्धन सरकारको १० टाउका भएको आरोप समेत लगाए । कर्णालीमा सयौँ विकासका सम्भावना भए पनि अझै पनि देशकै विकट प्रदेश भएको उनले बताए ।
अध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लोकतन्त्रको टुप्पोमा पलाएको ऐजेरु जस्तै भएको बताए । उनले ऐजेरु पार्टीभन्दा एमाले जनताको पार्टीका रूपमा स्थापित दल रहेको बताए । उनले रास्वपालाई अनेरास्ववियुसँग तुलना समेत गरे ।
‘उनीहरूले हामीलाई पुराना पार्टी भनिरहेका छन्,’ उनले भने,’ यो देशको एक मात्र विकास र परिवर्तनको नेतृत्व गर्ने पार्टी एमाले हो भन्ने कुरा उनीहरूलाई थाहा छैन ।’ अध्यक्ष ओलीले वर्तमान सरकार गुन्डाहरूको सरकार भएको आरोप लगाएका छन् । देशमा जताततै बलात्कारी, गुण्डागर्दी चलिरहेको बताउँदै उनले यो सरकार गुन्डाहरूको सरकार भएको दाबी गरे ।
जनताको रोजाइको पहिलो पार्टी एमाले
यस्तै अधिवेशनमै सहभागी भएको नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनताको रोजाइको पहिलो पार्टी एमाले भएको दाबी गरे । उनले जनताको रोजाइको पहिलो पार्टी भए पनि केन्द्रदेखि प्रदेशमा आफ्नो पार्टी नहुनु दुःखद भएको समेत जिकिर गरे ।

अधिवेशनमा बोल्दै महासचिव शङ्कर पोखरेल
‘हाम्रो पार्टी सरकारमा भएको बेला आर्थिक मन्दी उच्च थियो । अहिलेको सरकार सरकार जस्तो छैन,’ उनले भने,’ तरपनि हाम्रो पार्टीलाई चौतर्फी घेराबन्दी गरिएको छ, २०८४ सालमा एमालेको एकल नेतृत्वमा सरकार बन्छ । एमाले एक्लैको बलबुताले सरकारको नेतृत्व गर्ने गरी विभिन्न अभियानहरू सञ्चालन गरिरहेका छौँ ।’
प्रथम कर्णाली अधिवेशनले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने र एकताको सन्देश दिनुपर्ने उनको भनाइ छ । हामीले राष्ट्र निर्माणको नेतृत्व गरिरहेका बेला सबै मिलेर एमालेलाई हटाएको र एमाले नेतृत्वमा नहुँदा समाजमा वितृष्णा जागेको छ,’ उनले भने, ’ आज एमालेलाई चौतर्फी घेराबन्दी गरिएको छ ।’
साथै उनले घेराबन्दीलाई तोडेर एमालेको नेतृत्वको सरकार बनाउने अभियानमा जुट्न जरुरी रहेको बताए । मिसन २०८४ मा एमाले एक्लैले बहुमत ल्याउने बताउँदै उनले सोही अनुसार नेता, कार्यकर्ताहरूलाई लाग्न निर्देशन दिए ।
प्यानल बनाएर चुनाव नलड्न ओलीको निर्देशन
यस्तै अध्यक्ष ओलीले कर्णालीमा प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिएका छन् । उनले सर्वसहमतिमा नयाँ नेतृत्व चयन गर्न निर्देशन दिए । नेतृत्वको कुरा सुनेर अगाडि बढ्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले सहमति हुँदै नभए मात्रै चुनाव लड्न भनेका छन् । तर प्यानल बनाएर चुनाव नलड्न उनले निर्देशन दिए ।
‘इन्चार्जलाई अथुरिटी छ, महासचिव यहाँ बस्नुहुन्छ । लिडरसीपको कुरा सुनेर अधिवेशन गर्नुपर्छ । सहमति नभए चुनाव लड्नुहोस्, एउटाले जित्छ एउटाले हार्छ’ उनले भने ‘गुट बनाउन पाइँदैन, जिल्ला जिल्लाको सहमति जिल्लाले गर्नुहोस् । सक्नुहुन्न भने लड्नुस् हार्नुस् । तर, चुनाव सकिएपछि मैले जिते भनेर फुरफुर नगर्नुहोस् ।’
अध्यक्ष ओलीको निर्देशन पालना नहुने निश्चित
अध्यक्ष ओलीले दिएको निर्देशन कर्णालीमा पालना नहुने निश्चित देखिएको छ । यहाँ अधिवेशनमा चुनाव हुने लगभग पक्कापक्की भएको छ । यहाँ महासचिव पोखरेलकै टिमभित्र दुई धार देखा परेका छन् ।जसको नेतृत्व स्थायी कमिटी सदस्य यामलाल कँडेल र गोरखबहादुर बोगटीले गरिरहेका छन् । कँडेल नेतृत्वको टिमले उम्मेदवारको नाम टुङ्गोसमेत लगाइसकेको छ ।
कँडेल टिमले प्रदेश अध्यक्षमा सल्यानका गुलावजंग शाह, उपाध्यक्षमा जुम्लाका टेकराज पछाई, सचिवमा सुर्खेतका ध्रुवकुमार शाही, उपसचिवमा दैलेखका रवीन्द्रराज शर्मा, सुशील थापा र मुगुका जितबहादुर मल्लको नाम प्रस्ताव गरेको छ ।
यस्तै, समावेशी मिलाउन उपसचिवमा जाजरकोटकी कौशिलावती खत्री वा मुगुका दानसिंह परियारलाई ल्याउने गरी कँडेल टिम छलफलमा जुटिरहेको छ । यस्तै, बोगटीको टिमले अध्यक्षमा कालिकोटका मीनबहादुर शाहीको नाम टुङ्गो लगाए पनि अन्य पदाधिकारीका लागि बोगटीले आन्तरिकरुपमा छलफल गरिरहेका छन् ।
अध्यक्ष शर्माले चुनाव नलड्न निर्देशन दिए पनि र एमाले पार्टी सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले कर्णालीमा कुनै पनि गुट नरहेको सन्देश प्रवाह गर्न खोजे पनि यहाँ र बोगटीबिचको प्रतिष्ठाको लडाइँले सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना न्यून देखिएको छ।
आज बिहानदेखि बन्द सत्र सुरु
यस्तै एमालेको कर्णाली प्रदेश कमिटीको अधिवेशनको बन्द सत्र आज बिहीबारदेखि सुरु हुने भएको छ । प्रदेश अधिवेशनको बुधवार वीरेन्द्रनगरमा उद्घाटन गरिएको थियो । प्रदेश अधिवेशनको बन्द सत्र बिहीबार बिहान ८ बजेदेखि सिटी हलमा हुने बताइएको छ ।
बन्द सत्रमा हाल रहेको कमिटीका तर्फबाट राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस हुने बताइएको छ । प्रतिवेदनहरूमाथि छलफल भई पास भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । अधिवेशनमा सहभागिताका लागि १० जिल्लाबाट ६ सय चार जना प्रतिनिधि छनोट भएर आएका छन् । यो सामाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।