२०८३ वैशाख १२ , शनिबार

एमाले कर्णाली अधिवेशनको बन्द सत्र अझै सुरु भएन



सुर्खेत । नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशनअन्तर्गत आज विहान ८ बजे सुरु हुने भनिएको बन्दसत्र अझै सुरु भएको छैन । प्रतिनिधि कार्ड छपाई लगायतका कुराहरूमा केही ढिलाइ भएकाले बन्दसत्र सुरु हुन ढिलाई भएको एमाले कर्णाली प्रदेशका सचिव टेकराज पछाईले जानकारी दिए ।

उनकाअनुसार बन्दसत्र ११ बजेपछि हुने र बन्दसत्रमा महासचिव शङ्कर पोखरेलले अधिवेशनको विषयमा सम्बोधन गर्नेछन् । त्यसपछि राजनीति, साङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने सचिव पछाईले जानकारी दिए । ‘आज तीनवटा प्रतिवेदन प्रस्तुत हुन्छन्, ती प्रतिवेदनहरूमा बफादार रूपमा छलफल चल्ने छन्, निर्वाचनको प्रक्रिया सकेसम्म आजै बेलुका नभए भोलिबाट सुरु हुन्छ ।’ उनले भने ।

प्रदेश अधिवेशनमा ५१ हजार ८ सय ३७ जना प्रतिनिधिबाट ६ सय बढी प्रतिनिधि चुनिएर आएका छन् । सबै प्रतिनिधि सर्वसम्मत चुनिएर आएकाे बताइएको छ । संघीयता कार्यान्वयनमा आएपछि एमालेले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो । एमाले कर्णाली प्रदेशको नेतृत्वको लागि सकेसम्म सर् सहमतिबाट नै गर्न अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन सत्रमा निर्देशन दिइसकेका छन् ।

साथै ओलीले प्यानल बनाएर चुनाव नलड्न पनि निर्देशन दिएका छन् । तर, कर्णालीमा निर्वाचन हुने सम्भावना निश्चित देखिएको छ । यहाँ अहिलेसम्म यामलाल कँडेलको गुटबाट गुलावजंग शाहको नाम चर्चामा छ भने गोरख बोगटीको टिमबाट मीनबहादुर शाही र लालबहादुर महताराको नाम चर्चामा छ ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहीबार