२०८३ वैशाख १२ , शनिबार

ट्राफिक प्रहरीलाई चार सय ५० रुपैयाँ घुस दिनखोजेपछि …..



फाइल तस्बिर

सुर्खेत । रोल्पामा ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनिलस्मृति गाउँपालिका–३ मिझिङका ३२ वर्षीय टंकबहादुर घर्ती रहेका छन् । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
कसरी परे पक्राउ ?
रोल्पा नगरपालिका–१ बामरुकस्थित लिवाङ सातदोबाटो सडक खण्डमा ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँच चलिरहेको थियो । सोहीअवस्थामा लु १ प ४०९१ नम्बरको मोटरसाइकल आयो । ट्राफिकले चालकसँग सवारी चालक अनुमति पत्र माग्यो ।

मोटरसाइकलमा दुई जना सवार थिए । चालकले सवारी चालक अनुमति पत्र दिन सकेनन् । सुनिलस्मृति गाउँपालिका–३ मिझिङका २६ वर्षीय दीपक विष्टले सवारी चालक अनुमति पत्र नै प्राप्त नगरी मोटरसाइकल चलाइरहेको खुल्यो ।

घर्तीले ट्राफिक प्रहरीका सहायक हवल्दार घरम बस्नेतको खल्तीमा चार सय ५० रुपैयाँ घुसस्वरूप राखिदिए । त्यो दृष्य उपस्थित अन्यले पनि नियालिरहेका थिए । घर्तीको हर्कतले झनै कुरा बिग्रियो । प्रहरीले घर्तीलाई नियन्त्रणमा लियो ।

ट्राफिकलाई घुसबापत रकम दिन खोजेको भन्दै उनीमाथि मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । कसुर अनुसार मुद्दा चलाइ घर्तीलाई कानुनीबमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता एवम् प्रहरी निरीक्षक देवीराम भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रबार