२०८३ वैशाख १२ , शनिबार

यरीचोकमा बालकलाई ठक्कर दिएर फरार रहेका मोटरसाइकल चालक पक्राउ



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित यरिचोक नजिक बालकलाई ठक्कर दिएका मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१४ गुमीका ३१ वर्षीय अर्जुन पुन रहेका छन् । उनलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनको साथबाट प्रहरीले कर्णाली प्रदेश ०३–००२ प ९२०३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । उक्त मोटरसाइकलको ठक्करबाट शनिबार आठबिस नगरपालिका–६ खिड्कीज्युलाका ६ वर्षीय दिग्दर्शन पुरीको मृत्यु भएको थियो । यरिचोक नजिकको गोकुल कटेज नजिकै उक्त मोटरसाइकलले मामाको घरबाट फुपुको घर जाँदै गरेका बालक पुरीलाई ठक्कर दिएको थियो ।

यो हेर्नुहोस् – वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक बालक मृत्यु

ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि कर्णाली केयर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको थियो।बालकका आफन्तहरूले पीडकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै वीरेन्द्रनगरमा आन्दोलन गरेका थिए । उनीहरूले कर्णाली राजमार्गको दैलेख खण्डमा पनि सडक अवरूद्ध गरेका थिए ।

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक बालक मृत्यु

प्रकाशित मिति : २०८० असोज १४ गते आइतबार