२०८३ वैशाख १३ , आइतबार

भूकम्पका कारण १२ वटा प्रहरी कार्यालयमा क्षति



सुर्खेत । रुकुम पश्चिमका विभिन्न स्थानमा रहेका १२ वटा प्रहरी कार्यालयमा गत कात्तिक १७ गते गएको भूकम्पका कारण क्षति पुगेको छ । क्षति भएका कार्यालयहरु बस्न नमिल्ने भएपछि त्रिपाल तथा टेन्ट र अर्को भवनमा सारेर सेवा प्रवाह भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार भूकम्पका कारण जिल्ला प्रहरी कार्यालयसहित १२ वटा प्रहरी युनिटमा क्षति पुगेको छ । त्यसमध्ये पाँच वटा पूर्णरूपमा क्षति भएका छन् भने सात वटा उच्च जोखिममा रहेका छन् ।

प्रहरी निरीक्षक श्रेष्ठले जिल्ला प्रहरी कार्यालयको एउटा भवन पूर्ण रूपमा चर्किएकाले बस्न मिल्ने अवस्था नरहेको बताए । यस्तै प्रहरी चौकी पुर्तिमकाँडाको भवन पनि पूर्णरूपमा क्षति भएकोले अहिले टेन्टमा सरेको छ । प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लि र इलाका प्रहरी कार्यालय आठविसकोटको भवनमा पनि पूर्णरूपले क्षति पुगेको छ ।

सोलावाङको आफ्नै भवन हो भने सिम्लि र आठविसकोटको भाडाका भवनहरू हुन् । सिम्ली प्रहरी अहिले भाडाको घरमा सरेर सेवा दिइरहेको छ भने आठविसकोट प्रहरीले त्रिपालमा बसेर सेवा दिइरहेको छ । त्रिपालमा रहेर सेवा दिनुपर्दा प्रहरीका अत्यावश्यक सामग्रीहरुमा सुरक्षाको जोखिम रहेको प्रहरीको भनाइ छ ।

त्यसैगरी अस्थायी प्रहरी पोष्ट साँख, स्यालाखदी, प्रहरी चौकी पिपल, झुल्नेटा र इलाका प्रहरी कार्यालय चौरजहारीका भवनमा आंशिक रूपमा क्षति पुगेको छ । यीमध्ये चौरजहारीको भवन बस्न मिल्ने भए पनि बाँकी भवनहरू जोखिम मोलेर बस्नुपर्ने अवस्थामा रहेको रुकुम प्रहरीले जनाएको छ ।

भूकम्पको बेला खोज, उद्धार, उपचार र राहत वितरणमा अग्रस्थानमा खटिएको प्रहरीले कार्यालयको जोखिमका बीच निरन्तर सेवा प्रवाह गरिरहेको छ । नियमित प्रहरी गतिविधि तथा सेवाका साथै भत्किएका घरहरुको मुचुल्का बनाउने, तथ्यांक संकलन गर्ने, पुरिएका सामानहरु निकालेर सुरक्षित गर्नेलगायतका काममा रुकुम प्रहरी सक्रिय रहेको छ ।

प्रकाशित मिति : २०८० मंसिर ७ गते बिहीबार