२०८३ वैशाख १३ , आइतबार

छायाँनाथ रारा नगरपालिकामा नगरबस सेवा सञ्चालन



रवि हमाल, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले पहिलो पटक आफ्नो नगर क्षेत्र भित्र सर्वसाधारणका लागि नगर बस सेवा सञ्चालनमा ल्याएको छ ।बिहीबारबाट छायाँनाथ रारा नगरपालिकाले ८४ लाखमा दुई वटा बस खरिद गरी आफ्नो नगर क्षेत्रका केही स्थानहरूमा पहिलो पटक सर्वसाधारणका लागि नगर बस सञ्चालनमा ल्याएको हो ।

नगरपालिका भित्रका ३४ रुट मध्ये पहिलो चरणमा सदरमुकाम गमगढीबाट आठ वटा रुटमा नगर बसले सेवा दिने नगरपालिकाले जनाएको छ । छायाँनाथ रारा नगरपालिका –१४ बाम गाउँसम्मको २२ किलोमिटरसम्मको रुटमा बिहीबारबाट एक कार्यक्रमका बिच औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

छायाँनाथ रारा नगरपालिकाको १४ वडाका ८७ बस्तीमध्ये दुई बस्तीमा सडक पुगेको छैन । अन्य सबै बस्तीमा सडक पुगेको भएपनी सर्वसाधारणले सहुलियत दरमा यातायात गर्न पाएका थिएनन् । नगरपालिकाले पहिलो पटक नगरबस मार्फत सहुलियत दरमा यातायात सेवा दिन सुरुवात गरेपछि सर्वसाधारणलाई राहत हुनेभएको छ ।

सडक जोडिएका बस्तीहरूमा भाडामा सेवा दिँदै आएका जिपहरूले मनपरी भाडा असुल्दै आएका थिए । गमगढी देखी बाम गाउँसम्म भाडा जिपहरूले प्रति व्यक्ति  एकतर्फी ६ सय रुपैयाँ लिने गरेका छन् । नगरपालिकाले आफ्नो सेवा मार्फत प्रति व्यक्ति ३ सय र अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूलाई नगरबस सञ्चालन कार्यविधिअनुसार भाडामा छुट हुने छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले जानकारी दिए ।

बिहीबारबाट सञ्चालनमा ल्याएको नगरबस सेवा सहुलियत दरको भाडामा यातायात गर्न पाउने भएपछि छायाँनाथ रारा नगरपालिका–१३ र १४ नम्बर वडाका सर्वसाधारण हर्षित भएका छन् । नगरबस सञ्चालन आयपछि दुईतर्फी भाडा ६ सयमा आवतजावत गर्न मिल्ने भएपछि सम्पूर्ण स्थानीयवासी हर्षित भएको  छायाँनाथ रारा नगरपालिका–१४ का तिलक बुढाले बताए ।

बाम गाउँ स्याउ र पर्यटकको हवका रूपमा पहिचान भएको गाउँ हो । यहाँ धेरै कुण्ड, चंखेली, हिमाल लगायत पर्यटकीय स्थलहरू छन् । यहाँ घुम्न बाहिरका मान्छे समेत आउने भएपछि यहाँका सर्वसाधारणहरूको आर्थिक स्थितिमा केही सुधार हुने सोही वडाका चन्द्र बुढाले बताए ।

‘एक डोको स्याउ बेच्न सदरमुकाम पुग्नु पर्छ । एक डोको स्याउ बेचेर १ हजार २ सय आम्दानी हुन्छ, त्यही आम्दानी भएको रकम आउँदा जाँदा गाडी भाडा तिरेर रित्तै घर फर्किनुपर्ने हुन्थ्यो । नगरपालिकाले सहुलियतमा नगरबस सेवा ल्याएपछि  स्याउ बेचेर केही आम्दानी भएको रकम बचाएर घर ल्याउन सकिने भयो, छायाँनाथ रारा नगरपालिका–१३ की बास्मति रावतले भनिन्,

‘अझै नगरपालिकाले भाडामा केही रकम हेरफेर गरेको भए सबै भन्दा बढी हामी महिलालाई केही राहत हुने थियो । नगरबस सञ्चालनमा आएको यो सडक खण्ड सदरमुकाम गमगढी  र छिमेकी जिल्ला हुम्ला जोड्ने सडक हो । यो सेवाबाट मुगुका सर्वसाधारण मात्र नभई हुम्ला जिल्लाका स्थानीयले समेत सेवा पाउने भएका छन् ।

पहिलो पटक छायाँनाथ रारा नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र नगरबस सेवा सञ्चालन गरी सहुलियत दरमा सर्वसाधारणले यातायात गर्ने वातावरण बनाएको छायाँनाथ रारा नगरपालिका जिल्लाकै पहिलो स्थानीय तह भएको मुगुबाट निर्वाचित सङ्घीय सांसद ऐन बहादुर शाहीले बताए ।

 दोस्रो नगरप्रमुखका रूपमा निर्वाचित भएका नगरप्रमुख विष्णु कुमार भामले आफ्नो चुनावी नारामा नगरपालिकाका नगरवासीको सहज यातायात पहुँचका लागि  आफ्नो पाँच वर्षे कार्यकालमा चार वटा नगरबस खरिद गर्ने प्रतिबद्धता अनुसार पहिलो पटक दुई वटा बस खरिद गरिएको बताए ।

मेयर भामले दिएको जानकारी अनुसार बिहीबारबाट सञ्चालनमा ल्याएका दुईवटा नगरबसले तत्कालै सञ्चालनमा  आएका सडकखण्ड मार्फत गमगढी बजार, तुम, ताल्च, सल्लेरीहुँदै पिनासम्म र गमगढीबजार, रुगा, नेटा, लुमहुँदै बामसम्म सञ्चालनमा ल्याइने भएको छ ।

प्रकाशित मिति : २०८० मंसिर ७ गते बिहीबार