
रुकुम पश्चिम । जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पका कारण रुकुम पश्चिमको ३ स्थानीय तहमा ठूलो क्षति पुगेको छ । यी स्थानीय तहका बासिन्दालाई अहिले बासस्थानको आवश्यकता रहेको छ । बासस्थानका लागि टहराको आवश्यक परेपछि नेकपा माओवादी केन्द्र रुकुम पश्चिम यतिबेला अस्थायी टहरा निर्माणमा जुटेको छ ।
वडाबाट पार्टी इन्चार्जको कमाण्डमा आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको विभिन्न वडामा अस्थायी टहरा निर्माण भइरहेको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । आठबिसकोट नगरपालिकाका विशेष गरी वडा नम्बर ११, १३ र १४ भूकम्प प्रभावित वडा हुन् ।
यी वडामा अहिले माओवादी केन्द्रका नेता कार्यकर्ता खटिएर टहरा निर्माणमा जुटेको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हरि मल्ल (भाष्कर)ले बताए । भूकम्प प्रभावित वडामा माओवादी केन्द्रका केन्द्रीय सदस्यदेखि वडा कमिटीका सदस्यसमेत खटिएका छन् । माओवादी केन्द्रका उपमहासचिव, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा खटिएका छन् ।