
जाजरकोट । जाजरकोट र रुकुमपश्चिमका ९० प्रतिशत भूकम्प पीडित त्रिपालमै रहेको पाइएको छ । स्थानीय प्रशासनका अनुसार अस्थायी आवास निर्माणको क्रम चलिरहेको छ । अस्थायी आवासले पूर्णता पाउने क्रममा रहेकाले केही समयभित्रै सबै अस्थायी आवासमा बसोबास गर्न सक्ने स्थानीय प्रशासनको भनाइ रहेको छ ।
कात्तिक २६ गते नै स्वीकृत कार्यविधिअनुसार केन्द्र सरकारले अस्थायी आवास निर्माण गर्नका लागि ५० हजार रकम दिने र त्यसका लागि मापदण्ड तोक्ने काम गरेको थियो । त्यस अनुसार काम भइराखेको छ । स्थानीयका अनुसार विभिन्न राजनीतिक दलका स्वयंसेवकहरूले छानोबिनाका अस्थायी आवास निर्माण गरेका छन् ।
सरकारी अनुदानको रकमले जस्तापाता लगेर छाएपछि धेरै पीडित अस्थायी आवासमा रहन पाउने बताइन्छ । स्थानीय प्रशासनका अनुसार जाजरकोटमा नागरिकले गहुँबारीमा त्रिपाल हालेर बसेका छन् । त्रिपालमा विशेषगरी बालबालिका, बिरामी, ज्येष्ठ नागरिकहरूलाई निकै समस्या छ ।