
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाका स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । नाम्खा गाउँपालिका सदरमुकाम सिमकोटसँग सडक संजाल जोडिएको भएपनि सडक राम्रो नहुँदा अप्ठ्यारो यात्रा गर्नुपरेको हो । टिपर चालक डिल्ली शाहीका अनुसार नाम्खा–३ को च्याछरा भिरको सडक बरफले ढाकिएपछि यात्रा झन् सकस र जोखिमपूर्ण बन्ने गरेको छ ।
भिरालो क्षेत्रमा रहेको उक्त सडक हिउँदमा मात्रै नभएर अन्य समयमा पनि यात्राका लागि जोखिमपूर्ण रहेको स्थानीय नर तामाङले बताए । उनका अनुसार यही सडकमा ६ महिनाअघि बोलेरो दुर्घटना भएको थियो । दुर्घटनामा एक जनाको मृत्यु समेत भएको थियो ।
सडकको लेबल नमिलेका कारण पटक–पटक गाउँपालिकाले त्यसमा प्रयास गर्दा पनि हिल्सा–सिमकोट सडक आयोजनाले आफैं बनाउने भनेर रोकेका कारण काम हुन नसकेको गाउँपालिका स्रोतले जनाएको छ । सडकको करिब तीन सय मिटर क्षेत्र निकै जोखिमपूर्ण रहेकाले चीनको पुराङ्काउट्री जाने मुख्य सडक क्षेत्रमा ट्याक्टर, जीप आदी सञ्चालन गर्न अप्ठ्यारो हुने गरेको छ ।