
सुर्खेत । रुकुम पश्चिमका एक वडा अध्यक्षले भूकम्प प्रभावितहरुको फाइल च्यातिदिएका छन् । भूकम्पपछि घर भत्किएकाहरुको अस्थायी आवास निर्माणका लागि वडा अध्यक्षलाई दिइएको सिफारिस उनले च्यातिदिएका हुन् ।
आठबिसकोट नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम पुनले आइतबार भूकम्प प्रभावितहरुको फाइल च्यातेको पीडितको भनाइ छ । स्थानीय टिकाराम नेपाली र वविता बिकले वडा अध्यक्षलाई सिफारिसमा हस्ताक्षर गर्न भन्दै फाइल बुझाउँदा अध्यक्ष पुनले दुबै जनाको फाइल च्यातेर फालेको पीडित परिवारले बताएका छन् ।
प्रहरी मुचुल्काको लागि वडाले दिने सिफारिस नै वडा अध्यक्षले च्यातेर फालेपछि भूकम्प पीडितहरु थप निराश बनेका छन् । अध्यक्ष पुन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् । त्यस्तै वडा अध्यक्ष पुनले उनीहरु जाजरकोट जिल्ला बासिन्दा रहेको र उनीहरुको पनि ११ नम्बर वडामा जग्गा अलिकति भएको बताउँदै मापदण्ड पुगेसम्म राहत दिने निर्णय भएको बताए ।
आफ्नो वडाभित्र १ हजार ४ सय २५ घरधुरी रहेको बताउँदै उनीहरुको लिस्ट नभएको वडा अध्यक्षको भनाइ छ । उनीहरु मादक पदार्थ सेवन गरी वडामा प्रवेश गरेको पनि वडा अध्यक्ष पुनको भनाइ छ । मापदण्ड पुगेअनुसार काम गरेको र आफूले नमान्दा उनीहरुले फाइल आफैं च्यातेर आफूलाई आरोप लगाएको वडा अध्यक्ष पुनले बताए ।