
पुर्ण कुमार, डोल्पा । हिमाली जिल्ला डोल्पामा हिमपात भएको छ । डोल्पाको लगभग सबै ठाउँमा मंगलबार राती हिउँ परेको हो । मङ्सिरमै डोल्पामा हिमपातभएपछि जनजीवन निकै कष्टकर बनेको छ ।
माथिल्लो डोल्पासहित तल्लो डोल्पाको जुफाल, नर्कु, त्रिपुराकोट , पहाडा, लीकु , सर्मि, लगायत जगदुल्लाका अधिकांश स्थानमा हिमपात भएको छ । हिमपात भएसँगै जिल्लाको उत्तरी क्षेत्रमा पर्ने शे– फोक्सुण्डो, डोल्पोबुद्ध, छार्का ताङ्सोङ गाउँपालिकामा चिसो अत्याधिक बढेको छ भने आवतजावतमा समेत समस्या भएको छ ।
हिमपात भएसँगै डोल्पाका किसान भने हर्षित भएका छन् । यस वर्षको पहिलो हिमपात भएको र यसले हिउँदे बालीलाई राम्रो हुने स्थानीय कृषकहरुको भनाइ रहेको छ । हिउँदे वाली जौ, उवा, गौ, मसुरो लगायतका बालीलाई यस पटक परेको हिउँले उत्पादनमा राम्रो हुने स्थानीय कृषक जुन बहादुर सार्कीले बताए ।






प्रकाशित मिति : २०८० मंसिर २७ गते बुधबार