
काठमाडौं । वैदेशिक रोजगार व्यवसायी निर्मलराय अमात कुटिएका छन् । केपी इन्टरनेशनल ओभरसिज प्रा.लि.का सञ्चालक अमातमाथि वैदेशिक रोजगार विभाग ताहाचलका निर्देशकको कार्यकक्षमा हातपात भएको हो ।
केपी इन्टरनेशनलबाट वैदेशिक रोजगारीको क्लिनर भिसामा कुवेत गएर फर्किएकी एक युवतीले दिएको उजुरीमाथि उद्धार तथा राहत समन्वय शाखाका निर्देशक लोकनाथ भुसालको कार्यकक्षमा बिहीबार छलफल भइरहेको अवस्थामा अमातमाथि हातपात भएको थियो ।
उक्त म्यानपावर कम्पनीका सञ्चालक अमातले आफ्नो म्यानपावरबाट एक जनामात्र फर्केको र अन्य म्यानपावर कम्पनीबाट कुवेत गइ फर्केका महिलाहरु अनधिकृत महिलाको समेत हुल बनाएर आएर छलफल भइरहेको अवस्थामा आफूमाथि हातपात भएको बताए ।
हातपातपछि उनीहरू ‘हाम्रो पनि मान्छे ठाउँमा छन्, रामहरि खतिवडा हाम्रो नेता हो’ भन्दै कार्यालयबाट बाहिरिएको उनले बताए । विभागले बिचौलिया तथा अनधिकृत व्यक्तिको प्रवेश रोक्न निजी कम्पनीबाट सुरक्षाकर्मी हायर गरेर खटाएको छ ।
तर अनधिकृत महिलाहरू निर्देशकको कार्यकक्षमा सहजै पुग्नु र समस्याको समाधानका लागि छलफल भइरहेको बेला म्यानपावर सञ्चालकमाथि हातपात भएको घटनाले वैदेशिक रोजगार विभाग ताहाचलमा गरिएको सुरक्षा प्रबन्धमा पुनर्विचार हुनुपर्ने केही सेवाग्राहीले टिप्पणी गरेका छन् । घटनाका सम्बन्धमा विभागले भने केही बताएको छैन ।