२०८३ वैशाख १४ , सोमबार

जुम्लामा ‘बालविवाहविरुद्ध म बोल्छु’ अभियान शुरु



जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले ‘बालविवाहविरुद्ध म बोल्छुु अभियान शुरु गरेको छ । युनिसेफको आर्थिक सहयोग र नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनमा शुक्रबारबाट ‘म बालविवाहविरुद्ध बोल्छु र हामी बालविवाहविरुद्ध बोल्छौुं भन्ने मूल नाराका साथ यो अभियान शुरु भएको हो ।

चन्दननाथ नगरपालिकाको वडा नं १ बाट औपचारिकरुपमा यो अभियान सञ्चालन गरिएको छ । नगरपालिकाले बालविवाहविरुद्ध एकजुट भएर लाग्न सबैलाई आह्वानसमेत गरेको छ । यो अभियान सञ्चालनका लागि नगरपालिका, जिल्ला प्रहरी कार्यालय जुम्ला, नेपाल पत्रकार महासंघ जुम्ला, बालक्लब, बाल सञ्जाल, महिला अधिकारकर्मीहरुको सहभागिता रहेको चन्दननाथ नगरपालिका महिला शाखाकी प्रमुख माया थापा शाहीले बताइन् ।

चन्दननाथ नगरपालिका महिला शाखामा कार्यरत बालकल्याण अधिकारी पुष्पा थापाले अभियानको पहिलो दिन नमुना माध्यामिक विद्यालय खलंगा, न्युभिजन ट्युसन सेन्टर जुम्ला र वडा नं १ का अभिभावक र बालबालिकालाई सचेतना दिइएको छ । उनका अनुसार बालविवाहविरुद्धको यो अभियानको प्रशिक्षकको रुपमा प्रहरी साहयक निरीक्षक विवेक खनाल रहेका छन् ।

उनका अनुसार नगरपालिकाका दशै वटा वडा र जिल्लामा सञ्चालित ट्युसन सेन्टरमा अध्यायनका लागि आएका बालबालिकालाई प्रथामिकतामा राखिएको छ । त्यस्तै चन्दननाथ नगरपालिका वडा नं १ का कार्यबाहक वडाध्यक्ष नन्द बहादुर गुरुङले बालविवाह न्यूनीकरणका लागि अभियान शुरु गरिएको बताउँदै यस अभियानमा हातेमालो गरेर लाग्न सरोकारवालाहरुलाई आग्रह गरे ।

उनले कुनै एक निकायको पहलले मात्र बालविवाह न्यूनीकरण गर्न सम्भव नभएकाले सबै मिलेर लाग्नुपर्ने बताए । त्यस्तै न्यायिक समितिका सदस्य दयादत्त हमालले बालबालिकाहरुलाई अभियान्ताका रुपमा अघि सार्न उनीहरुलाई नै यो अभियानमा सामेल गराइएको बताए । उनले बालबालिका आफैंले बालविवाह न्यूनीकरणका लागि नेतृत्व लिएकाले अभियान प्रभावकारी हुने बताए ।

बालविवाह गर्ने बालबालिकाको स्वयं स्वास्थ्य, शिक्षादेखि समग्र जीवन पद्धतिमा प्रत्यक्ष नकरात्मक असर पर्ने भएकाले समाजबाट बालविवाह गर्ने कार्य पूर्णरुपमा अन्त्य गर्ने उद्देश्यका साथ बालबालिकाहरु बाल क्लबमा संगठित हुँदै बालविवाहविरुद्धको अभियानमा सक्रिय हुन थालेका छन् ।

प्रकाशित मिति : २०८० पुस ७ गते शनिबार