२०८३ जेठ १८ , सोमबार

पढाई सुगममा, चिट चोर्ने आशले परीक्षा दुर्गममा  



कुलेन्द्र शाही, सुर्खेत । गत बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) देशैभर सञ्चालन भइरहेको छ । तर एसईई दिने विद्यार्थीको सङ्ख्या प्रत्येक वर्ष घट्दै जान थालेको तथ्याङ्कले देखाइ रहेको छ । पढाइको बेला सुगमका विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेपनि परीक्षा दिने बेलामा भने गाउँका विद्यालयमा सङ्ख्या बढ्ने गरेको छ ।

पढाइको बेलामा सुगम ठाउँ आउने र परीक्षामा (दुर्गम) ठाउँ जाने भएकाले परीक्षार्थीको सङ्ख्या सुगमका विद्यालयमा घट्ने गरेको छ । सुगममा पढेर गाउँमा परीक्षा दिन जाने हुँदा सहरका विद्यालयमा एसईई दिनेको सङ्ख्या घट्दै गइरहेको तथ्याङ्क बोल्छ । सुर्खेत वीरेन्द्रनगर–१ मा रहेको सनसाइन एकेडेमीमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या चार जना थियो ।

बिहीबार एसईईको परीक्षा दिने बेलामा परीक्षार्थीको सङ्ख्या एक जना मात्रै रहेको विद्यालयले जनाएको छ ।  सनसाइन एकेडेमीको परीक्षा केन्द्र वीरेन्द्रनगरको ढोडेखालीमा छ । कक्षा १० मा पढाइको बेलामा ४ जना भएकोमा परीक्षा दिने बेला तीन जना विद्यार्थी दुर्गमका विद्यालयमा परीक्षा दिन गएपछि सनसाइनबाट एक जना मात्रै एसईईमा सहभागी भएको विद्यालयले जनाएको छ ।

सहरका विद्यालयमा पढेर गाउँका विद्यालयहरूमा गई परीक्षा दिएपछि सजिलै पास हुने भएकाले विद्यार्थीहरू परीक्षाको समयमा गाउँका विद्यालयमा जान थालेको शिक्षकहरूको भनाई छ । परीक्षाका समयमा सुगमका विद्यालयमा विद्यार्थी घट्नुको कारण जागिरे अभिभावकले अन्य समय बालबालिकालाई साथमै राख्ने र परीक्षाका समयमा गाउँ पठाउनु पनि रहेको बताइन्छ ।

गाउँका विद्यालयहरूमा चिट चोर्न पाइने भएकाले सहरका विद्यालयमा पढ्ने विद्यार्थीहरू गाउँमा जान थालेका हुन् । सुर्खेत वीरेन्द्रनगर–६ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै गरेका एक जना विद्यार्थीले अर्को वर्षको एसईईमा गाउँ गएर परीक्षा दिने बताए । उनले पढाई यहाँ गरेर परीक्षाको समयमा जाजरकोट गएर परीक्षा दिने बताए ।

‘अहिले नौ मा पढ्छु अर्को वर्ष एसईई दिने हो, पढ्न यही पढ्छु तर परीक्षा दिने बेलामा जाजरकोट जाने हो, यहाँबाट पढेर गाउँ गएपछि नम्बर पनि राम्रो आउँछ,’ उनले भने, ‘गाउँका विद्यालयहरूमा चिट चार्न पाइन्छ रे, आफूले नजानेपछि सट्टामा बसाल्न पनि मिल्छ रे’ उनले धेरै जसो विद्यार्थीहरू यहाँ पढेर एसईई दिन गाउँका विद्यालय जाने गरेको बताए । हाल सञ्चालन भइरहेको एसईईको परीक्षामा सुर्खेतमा मात्रै दुई सय ४६ जना विद्यार्थी अनुपस्थित भएका छन् ।

अनुपस्थित हुनेहरू एक जिल्लामा पढेर अर्को जिल्ला गएकाले पनि अनुपस्थित भएको हुनसक्ने शिक्षकहरूको आशङ्का छ । वीरेन्द्रनगर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख एवम् उपसचिव धिरेन्द्र प्रसाद शर्माले छात्रवृत्ति र चिट चोर्ने आशले सुर्खेतमा विद्यार्थीहरू एसईईको परीक्षामा अनुपस्थित भएको बताए । उनले कर्णालीका अन्य जिल्लाभन्दा सुर्खेतमा परीक्षा तुलनात्मक रूपमा प्रभावकारी भएकाले चिट चोर्न नपाइने भन्दै विद्यार्थीहरू परीक्षाको समयमा गाउँका विद्यालयमा गएको बताए ।

‘सुर्खेतमा अन्य जिल्लाभन्दा परीक्षा मर्यादित छ, पढाइ क्षमतामा कमजाेरस्थिति भएका विद्यार्थीहरू यहाँबाट पास हुने सम्भावना नभएपछि गाउँका विद्यालयबाट सहजै पास भइन्छ भनेर जान्छन्, अभिभावकहरूले पनि गाउँमै पठाउँछन्’ उनले भने, ‘सहरका निजी विद्यालयमा आफ्नो छोराछोरी पढाएर छात्रवृत्ति पाउने आशले पनि गाउँका सामुदायिक विद्यालयहरूमा लिएर परीक्षा गराउँछन् ।’

उनले स्थायी घर गाउँमा र अस्थायी बसोबास सुर्खेतमा भएका कतिपय कर्मचारीहरूले पनि आफ्ना छोराछोरी तथा भाइबहिनीहरूलाई यहाँ पढाएर परीक्षा गाउँमा दिन लगाएको बताए । अहिले सञ्चालन भइरहेको एसईई परीक्षामा सुर्खेतभरिमा ३३ वटा परीक्षा केन्द्र तोकिएको छ । उक्त परीक्षा केन्द्रमा ८ हजार ९५ जना विद्यार्थीले परीक्षा दिइरहेका छन् । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ । 

प्रकाशित मिति : २०८० चैत २३ गते शुक्रबार