सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बाल पोषण अनुदानको सही प्रयोगका लागि अभिभावकहरूलाई सचेतिकरण गर्न आवश्यक रहेको बताएका छन् । सामाजिक विकास मन्त्रालयले सोमवार वीरेन्द्रनगरमा आयोजना गरेको बाल पोषण अनुदान तथा अभिभावक शिक्षा सम्बन्धी प्रदेश स्तरीय संवाद कार्यक्रममा मन्त्री भण्डारीले पोषण भत्ता सदुपयोगका लागि अभिभावक शिक्षा महत्त्वपूर्ण हुने बताएका हुन् ।
आगामी दिनमा आर्थिक रूपमा सम्पन्नहरूले पनि पाउँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गरी विपन्नलाई वृद्धि गर्नुपर्ने मन्त्री भण्डारीको भनाई छ । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले कर्णालीको पोषण अवस्था सुधार गर्नका लागि विशेष योजना बनाइने बताए । प्रदेश योजना आयोगले निर्माण गरिरहेको कर्णाली प्रदेश सरकारको दोस्रो आवधिक योजनामा पोषणसम्बन्धी विशेष योजना समेट्ने उनले बताए ।
नगरपालिका सङ्घ कर्णाली प्रदेशका अध्यक्ष हस्त पुनले पोषण भत्ताको सही सदुपयोगसँगै स्थानीय पोषणयुक्त खानेकुरा उत्पादनमा पनि जोड दिनुपर्ने बताए । स्वास्थ्य, कृषि र पोषणलाई एकीकृत रूपमा अगाडी बढाउनुपर्ने उनको भनाई छ । गाउँपालिका राष्ट्रिय महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष निमबहादुर केसीले समग्र बालबालिका भन्दा र सहयोगीपेक्षी बालबालिकाहरूलाई पोषण लगायत विशेष सहयोग गर्नुपर्ने बताए ।
प्रदेश बाल अधिकार परिषद् सदस्य डम्मर रोकायले बालबालिकाको समग्र वृद्धि विकासका लागि पोषणमा लगानी आवश्यक रहेको बताए । सेभ द चिल्ड्रेन फिल्ड कार्यालय सुर्खेतका प्रमुख रत्न ओझाले बाल बालिकाको विकासका लागि पोषण महत्त्वपूर्ण हुने भन्दै पोषण सुधारका लागि सेभ द चिल्ड्रेनले सरकारसँग मिलेर काम गरिरहेको बताए । आगामी दिनमा पनि बाल बालिकाको हितका कार्यक्रममा आफूहरू प्रतिबद्ध रहेको उनले जिकिर गरे ।
गैर सरकारी संस्था महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसीले कर्णालीमा पोषणको अवस्था कमजोर रहेको भन्दै पोषण सुधारका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताए । समाज जागरण केन्द्र (स्याक) नेपाल र किडार्क नेपालको संयोजन रहेको उक्त संवाद कार्यक्रमको अध्यक्ष सामाजिक विकास मन्त्रालय अन्तर्गतको महिला तथा बालबालिका महाशाखा प्रमुख अनिता ज्ञवालीले गरेकी थिइन्।