२०८३ वैशाख २५ , शुक्रबार

चिंगाडमा पनि गठवन्धन भत्कियाे, माओवादीले कांग्रेसलाई भाेट नदिने



      नेकपा माओवादी केन्द्र चिङ्गाड गाउँ कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान नगर्ने भएको छ। नेपाली कांग्रेसले आफुहरुलाई धोका दिएको भन्दै माओवादीले गठबन्धन तोडेको हाे ।
     नेकपा माओवादी केन्द्र चिंगाडका अध्यक्ष समरबहादुर कामी र सचिव महेश जिसीले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशमा भएको सहमतिविपरीत कांग्रेस लागेकोमा राेष प्रकट गरेका छन्।
     विज्ञप्तिमा चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने र माओवादीको तर्फबाट विजयी भएका वडासहित ३ वटा वडा ने.क.पा. (माओवादी केन्द्र) को नेत्तृत्वमा गठबन्धन गरी निर्वाचन लड्ने अन्य ३ वटा वडा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन गरी निर्वाचन लड्ने प्रदेश स्तरमा सहमति भएको उल्लेख गरेको छ।
      तर, याे निर्णयकाे माओवादी केन्द्रवाट पूर्णरूपमा पालना भएपनि कांग्रेसको तर्फबाट उल्लंघन गरिएको विज्ञप्तिमा उल्लेख छ। माओवादीले विज्ञप्ति निकालेरै कांग्रेसलाई मतदान नगर्ने निर्णय सार्वजनिक गरेपछि कांग्रेसका तर्फवाट उम्मेदवार वनेका पालिका अध्यक्ष र उपाध्यक्षलगायतलाई ठूलो असर गर्नेछ। यहाँ अध्यक्ष पदमा नेपाली कांग्रेसका डाेरप्रसाद शर्मा र एमालेका वाेधबिक्रम जिसीकाे बीचमा कडा प्रतिस्पर्धा रहने स्थानीयहरु वताउँछन।
     चिंगाडलाई माओवादी केन्द्रले सुर्खेतमा आफ्नाे पार्टीको आधार क्षेत्र मान्दै आएकाे छ। चिंगाडका नेता कृष्ण जिसी हाल नेकपा माओवादी केन्द्रकाे कर्णाली प्रदेश उपाध्यक्ष छन्। माओवादी कै जितवहादुर राना, रेशम जिसी र युवा/विद्यार्थी नेता महेश जिसीसमेत चिंगाडकाे राजनीतिमा निर्णायक मानिन्छन्।

प्रकाशित मिति : २०७९ वैशाख २० गते मंगलबार