
सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले प्रदेशसभाको छैटौँ अधिवेशन साउन २१ गते राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बिहान बसेकाे बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलक राज ढकाललाई सामाजिक विकास मन्त्रालयको सचिवमा काजमा खटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिए।
उनकाअनुसार बैठकले सर्वोच्च अदालतको परमादेश २०८२ जेठ ७ गतेको आधारमा जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नम्बर ४ स्थित लुहादहलाई गाउँपालिकाको प्रशासनिक केन्द्र तोक्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ ।
मन्त्रीपरिषदले ‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८२’ स्वीकृत गर्ने निर्णय पनि गरेको छ। साथै प्रदेशका कार्यालयहरूमा सूचनाको हक कार्यान्वयनको अवस्था बारे अनुगमन गर्न शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश अनुगमन समिति गठन गर्ने निर्णय पनि गरिएको प्रवक्ता शाहले जानकारी दिए।