२०८२ माघ १८ , आइतबार

कांग्रेसले हेभीवेट नेता शक्ति बस्नेतलाई किनारा लगाउँछ : बेदराज सिंह



जाजरकोट । नेपाली कांग्रेस जाजरकोटका सभापति तथा कर्णाली प्रदेशसभा सदस्य बेदराज सिंहले हेभीवेट नेता भनेर चिनिएका नेकपाका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई नेपाली कांग्रेसले पराजित गर्ने दाबी गरेका छन्।आइतबार नलगाड नगर कार्यसमितिले आयोजना गरेको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले जाजरकोटमा कांग्रेसबाहेक अन्य कुनै दलले चुनाव जित्न नसक्ने बताए।

‘कर्णालीका अरू कुन–कुन ठाउँमा चुनाव जितिन्छ थाहा छैन,’ सिंहले भने, ‘तर कांग्रेस अब देशभरबाट पहिलो पार्टी बन्छ। सभापति गगन थापा प्रधानमन्त्री र जाजरकोटबाट खडकबहादुर बुढा मन्त्री बन्छन्।,’ उनले अन्य पार्टीका कार्यकर्ता तथा समर्थकहरूबाट दैनिक सयौँ फोन आइरहेको बताउँदै उनीहरूले कांग्रेसलाई नै मत दिने प्रतिबद्धता व्यक्त गरेको समेत बताए।

सिंहले चार पटक मन्त्री भइसकेका नेकपाका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई सामान्य परिवारबाट आएका युवा नेता खडकबहादुर बुढाले पराजित गर्ने दाबी गरे। ‘अरू पार्टीका को–को पराजित हुन्छन् भन्ने थाहा भएन,’ उनले भने, ‘तर युवा नेता खडकले चार पटक मन्त्री भइसकेका शक्तिलाई चुनावमा पराजित गरेर मन्त्री बन्ने निश्चित छ।,’

सिंहले कांग्रेसले परिवर्तन र युवालाई प्राथमिकतामा राखेर राजनीति गरिरहेको हुँदा मतदाताको समर्थन बढेको बताए। युवाहरू र मतदाताहरू चुनाव जिताउन आतुर रहेको उल्लेख गर्दै उनले जाजरकोटमा अलपत्र परेका र अघि बढ्न नसकेका विकासका कामहरू कांग्रेसले चुनाव जितेपछि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार