२०८२ माघ १८ , आइतबार

तत्कालीन माओवादीले आफ्नो चुनाव चिन्ह बेचेर खाइसक्यो : छवि पन्त



जाजरकोट । नेपाली कांग्रेस जाजरकोटका सहसचिव एवम् प्रवक्ता छवि पन्तले तत्कालीन माओवादीले आफ्नो चुनाव चिन्ह नै बेचेर खाइसकेको आरोप लगाएका छन्। आइतबार नलगाड नगरपालिकामा आयोजित चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले अहिले तत्कालीन माओवादीको चुनाव चिन्ह हँसिया–हतौडा नरहेको बताए।

‘पहिले हँसिया–हतौडामा मतदान गरेका मतदाता र नगरवासीहरूलाई अहिले सोध्न चाहन्छु, तपाईँहरूको चुनाव चिन्ह कहाँ गयो ?,’ उनले भने, ‘तत्कालीन माओवादीले त्यो चुनाव चिन्ह बेचेर खाइसक्यो। अब जनताले कांग्रेसलाई मतदान गर्नेछन्।,’ पन्तले नलगाड नगरपालिकाले वार्षिक करिब ५८ लाख रुपैयाँ मसलन्द खर्चमा मनोमानी गरेको आरोप पनि लगाए।

उनले नगरपालिकाले आर्थिक सहायता शीर्षकमा एकै वर्ष १४ लाख रुपैयाँ खर्च गरेको बताए। ‘यो मैले भनेको होइन,’ उनले भने, ‘महालेखाको वेबसाइटमै उल्लेख छ।,’ उनले उक्त सहायता सामान्य नागरिकले नपाई नेतृत्व पक्षका नातागोता र पहुँचवालाले मात्र पाएको आरोप लगाए।

उनले माओवादीले करिब १० वर्षसम्म नगरपालिकाको नेतृत्व गरे पनि अझै धेरै स्थानमा विद्युत् सेवा नपुगेको बताए। ‘अब तत्कालीन माओवादीलाई उहाँहरूकै नातागोताले मात्र मत हाल्नेछन्,’ पन्तले भने, ‘बाँकी सबै जनताले कांग्रेसलाई मत दिनेछन्।,’

प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार