
जुम्ला । जुम्लामा १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शील्ड सुरु भएको छ । सोमवारदेखि नेपाली सेनाको टुँडिखेल मैदानमा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिता कर्णाली प्रदेशका सांसद देवेन्द्रबहादुर शाहीले उद्घाटन गरेका हुन् । उद्घाटनलाई सम्बोधन गर्दै सांसद शाहीले सर्वांगीण विकासको आधारस्तभ खेलकुद क्षेत्र भएको बताए । राष्ट्रको शान गौरवलाई सदैव उच्च राख्ने खेलकुदको आर्दशलाई सबैले आत्मसात गर्ने बेला आएको बताए।
उनले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउँदै जुम्लाका खेलाडीले राष्ट्रियस्तरको पहिचान बनाउन सफल भएको जानकारी दिए । उनले खेल क्षेत्र कसैको प्राथमिकताको विषय बन्न नसकेकोमा चिन्ता व्यक्त गरे ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका ८ स्थानीय तहमध्ये ६ वटाले मात्र भाग लिएका छन् । सोमवारदेखि सुरु भएको रनिङ शिल्डका उत्कृष्ट खेलाडीले वैशाख ३ गतेदेखि हुने प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने छन् ।
रनिङ शील्डमा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, एथलेटिक्स लगायतका खेल समावेश गरिएको छ । जिल्ला खेलकुद विकास समिति जुम्ला र चन्दननाथ नगरपालिका जुम्लाको आयोजनामा भएको प्रतियोगितामा जुम्लाका ६ वटा गाउँपालिका भित्रका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।
जुम्लाका ८ वटा स्थानीय तहमध्ये सिंजा गाउँपालिका र गुठिचौर गाउँपालिका भने सहभागी नभएको जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख बरमबहादुर महतले जानकारी दिए ।