सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका बहालवाला कर्मचारीहरूले विश्वविद्यालयले करारमा गरिरहेको शिक्षक–कर्मचारी भर्नाको विरोधस्वरूप हातमा कालोपट्टी बाँधेर काम गर्ने भएका छन्। उनीहरूले विश्वविद्यालयले पछिल्लो समय संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरेको, सेवा आयोगलाई जिम्मा नदिएर करारमा कर्मचारी भर्ना गरेको जस्ता विषयमा विरोध जनाउँदै आएका छन्।
शुक्रबार विश्वविद्यालयका कर्मचारी संगठनहरूले संयुक्त रूपमा विज्ञप्ति निकालेर आफ्ना मागहरू सुनुवाइ नभएकाले शुक्रबारदेखि आइतबारसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने घोषणा गरेका हुन्। यसअघि मंगलबार पनि प्रजातन्त्रवादी कर्मचारी संघ, प्रगतिशील कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर विश्वविद्यालयले तत्काल ‘ओएण्डएम’ गर्नुपर्ने, करार सेवामा शिक्षक, कर्मचारी भर्नाका लागि खोलिएका पछिल्ला विज्ञापन रद्द गर्नुपर्ने जस्ता माग गरेका थिए।
विश्वविद्यालयस्थित रजिष्ट्रार कार्यालयमा दिइएका ती मागका बारेमा कुनै पनि छलफल तथा सुनुवाइ नभएको भन्दै दोस्रो चरणको आन्दोलनस्वरूप हातमा कालोपट्टी बाँधेर काम गर्ने घोषणा उनीहरूले गरेका हुन्। आइतबारसम्म पनि आफ्ना माग सम्बोधन नभए थप संघर्षका कार्यक्रम अगाडि बढाउने कर्मचारी संगठनहरूले चेतावनी दिएका छन्।