गायिका सुनिता बुढाको गुनासो – ‘देशले चिन्यो तर कर्णाली एक्सपोले चिनेन’

खबरदृष्टि सम्वाददाता २ चैत्र २०८०, शुक्रबार १४:१४

सुर्खेत । लोक तथा दोहोरी गायिका सुनिता बुढा क्षेत्रीले केही दिन अघि मात्रै सम्पन्न भएको तेस्रो कर्णाली एक्सपोले आफूलाई नचिनेको भन्दै गुनासो गरेकी छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाट्स राख्दै गायिका बुढाले देशले आफूलाई चिनेको तर कर्णाली एक्सपोले भने नचिनेको गुनासो गरेकी हुन् ।

उनले कलाकारहरूको लागि मेला महोत्सव तीर्थ जस्तै भएको बताएकी छिन् । उनले लेखेकी छन् ‘आफ्नै घरको आँगनले मलाई पराई ठान्यो नजिकको तीर्थ हेला हुन्छ भन्थे तर तीर्थस्थलले नै नजिकको भक्तलाई हेला गर्दो रहेछ ।’ उनले तेस्रो कर्णाली एक्सपोले आफूलाई झारा टार्ने हिसाबले पहिला सम्पर्क गरी पछि कुनै वास्ता नगरेको गुनासो गरेकी छन् ।

गायिका बुढाले आफू मौलिक धारको गीत गाउने गायिका भएकाले आयोजकले वास्ता नगरेको हुनुपर्ने आङ्कलन गरेकी छिन् । साथै उनले महोत्सवमा आउनको लागि मितिको विषयमा बुझ्न खोज्दा पनि आयोजकले कुनै पनि वास्ता नगरेको बताएकी छन् ।

उनले लेखेको स्टाट्स यस्तो छ ।
आफ्नै घर को आँगन ले पराई ठान्यो मलाई!! नजिकको तीर्थ हेला हुन्छ भन्थे तर तीर्थस्थलले नै नजिकको भक्तलाई हेला गर्दोरहेछ । किनकि मेला महोत्सव हामी कलाकारहरूको लागि तीर्थ जस्तै हो ।

म जन्मेको, हुर्केको,कलाकारितामा बामे सरेको त्यही सुर्खेत हो । कर्णालीको राजधानी मैले कलाकारितामा सङ्घर्ष गरेको माटो त्यही हो । मलाई जहाँसम्म लाग्छ त्यो घण्टाघरले चिन्छ मलाई, बुलबुले, देउती बज्यै, काँक्रेविहार, गोठिकाँडा लगायत सबै प्राकृतिक र धार्मिक स्थलहरूले चिन्छ ।

किनकि म त्यसै माटोको एउटा हिस्सा हुँ, मलाई माया गर्ने आफ्नै सुर्खेती मेरा भगवानरुपी दर्शक श्रोताले चिन्नुहुन्छ । तर तेस्रो कर्णाली एक्सपो २०८० महोत्सव सुर्खेतले चिनेन, ठिकै छ मलाई केही गुनासो छैन ।तर बेवास्ता सबैभन्दा ठुलो पीडा हुँदो रहेछ, मलाई झारा टार्ने हिसाबले पहिला सम्पर्क गरियो ।

तर डेट (मिति) फिक्स गरिएन, मैले सम्पर्क गरी डेटको विषयमा बुझ्न खोज्दा कुनै वास्ता गरिएन । तरपछि एक दिन अगाडि तपाइको पालो भोलि है भनेर सम्पर्क गरिन्छ । त्यति खेर मेरो बाहिर कार्यक्रम थियो । फलाना फलाना त्यो महोत्सवमा अट्दा म अटिन, पुरै देशले मलाई माया गरेर समेट्दा आफ्नै सुर्खेतले समेटेन, विदेशमा पनि सबै नेपालीहरूले कति धेरै माया गर्नुभाछ, सम्पूर्णप्रति हार्दिक आभार छु ।

म मौलिक धारको गीत गाउने गायिका भएर होला सायद मलाई बेवास्ता गरिएको, किनकि म उरन्ठ्याउला गीत गाउँदिन, चुरीफुरी गर्दिन, भाइरल गायिका पनि होइन, खैर सबै आयोजक अनि जिम्मेवारी आदरणीय ज्युहरूलाई फेरि पनि धन्यवाद छ ।

मैले गुनासोभन्दा पनि आफ्नै जन्मेको घरमा जन्मदिने बाउले विशेष चाडपर्वको बेलामा नबोलाएको जस्तै लाग्यो र मनको सानो तित्तता पोखेको मात्रै हुँ । सबै सुर्खेतीहरुप्रति नमन छ ।

Next Post

भूमिहीनको लगत संकलनमा ढिलाइ

२ चैत्र २०८०, शुक्रबार १४:१४
मुगु । मुगुमा स्थानीय तहले भूमिहीनको लगत संकलनमा चासो नदिँदा लगत संकलनमा ढिलाइ भएको छ। जिल्लाका चार स्थानीय तहले चासो नदिँदा भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीको लगत संकलनमा ढिलाइ भएको हो। राष्ट्रिय भूमि आयोग मुगुको आयोजनामा बिहीबार भूमिहीनको लगत संकलन प्रगति विवरणका विषयमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै आयोगको […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031