२०८३ वैशाख ४ , शुक्रबार

चार महिनामै किन बन्द भयो वीरेन्द्रनगरमा ‘नगरबस’ ?



सुर्खेत । अटो रिक्साले मनलाग्दी भाडा अशुल्ने गरेको जनगुनासो बढेपछि संयुक्त यातायात प्रा.लि ले गत २०८० असार १ मा वीरेन्द्रनगरमा नगर बस सञ्चालन ग¥यो । नगर बस सञ्चालन हुँदा उक्त विषयले यहाँ निकै चर्चा कमायो । नगर बस सञ्चालन भएपछि महंगो भाडा तिरिरहेका यहाँका सर्वसाधारण हर्षित भए । व्यवसायीहरूले वीरेन्द्रनगर उपत्यकाका मुख्य सडकमा नगरबस चलाउन सुरू गरेका थिए ।

वीरेन्द्रनगरको धुलियाविट–मङ्गलगढी–मूलपानी–प्रदेश अस्पताल–कुमाइचोक भएर हिलेखाली चोकबाट बाङ्गेसिमल हुँदै पुनः सोही रुट भएर नगर बस सञ्चालनमा थियो । उक्त रुटमा एक पटक चढे–झरेको २० रुपिँया थियो । केही महिना पछि संशोधन भई ३० रुपिँया भाडादर तोकिएको थियो । भाडा संसोधन भएपछि पनि यातायात व्यसायीहरुले नगर बस बन्द गरे ।

प्रारम्भमा १० वटा बस चलाएकोमा पछि थप्दै १४ वटा पु¥याएका थिए । अटोरिक्साको जोखिमपूर्ण र महँगो यात्राबाट हैरान सर्वसाधारण यात्रुलाई न्यूनतम शुल्कमा उपत्यकामा यातायात सेवा दिन उद्देश्यले यातायात व्यवसायीहरूले सुरू गरेको नगरबस सेवा चार महिनामै बन्द बन्द भयो । नगरबस बन्द भएपछि यहाँका अटो व्यवसायीहरुले यात्रुहरुसँग चर्को भाडा लिने गरेका छन् ।

पहिले नगरबसमा यात्रा गर्ने वीरेन्द्रनगरका खिमराज शर्माले नगरबस बन्ँद भएपछि अटोहरुले मनोमानी तरिकाले भाडा लिने गरेको बताए । ‘पहिले नगरबस हुँदा धेरै सहज भएको थियो ।’ उनले भने, ‘ हामीले २० रुपैया तिरेरै घरसम्म पुग्थ्यौ, नगरबस बन्द भयो, अहिले त पँचास रुपैयाँभन्दा धेरै लाग्छ ।’ उनले थपे कोही अटोवालाले ४० लिन्छन् कोहीले पँचास कोही त ७० पनि लिन्छन् यिनीहरुको एउटै भाडादर छैन् ।’

यस्तो गुनासो गर्ने उनी एक पात्र मात्रै हुन् । नगर बस बन्दभएपछि दैनिकी यात्रा गर्ने यहाँका नागरीकलाई निकै सास्ती भएको छ । त्यतिमात्रै नभई नगरबस बन्द हुनुमा यात्रुहरु पनि दोषी देखिन्छन् । नगरबस सञ्चालन भइपछि अटो चालकहरुले पनि भाडादर घटाए । नगर बस र अटोरिक्साको भाडा बराबर भएपछि यात्रुले छिटो र सजिलोका लागि अटोरिक्सा नै रोज्ने गरेका थिए ।

यात्रुहरु नगरबसले पु¥याउनुपर्ने ठाउँमा ढिला गर्ने भएकाले अटोमै चढ्ने गरेका थिए । नगर बस बन्द हुनमा आ–आफ्नै कमजोरी भएको यातायात व्यवसायीहरुको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कर्णाली प्रदेश संयोजक रमेश सापकोटालेसहकार्य र समन्वयमा नगरपालिकाको कमजोरी, इन्धनमा लगातार मूल्यवृद्धि र यात्रुमा चेतनाको कमी लगायतका कारणले नगरबस बन्द भएको बताए ।

उनले ‘नेपालगञ्ज चल्ने गाडीहरू होल्ड (खाली) भएका बेला हामीले समय मिलाएर चलाएका थियौ । हामीले पहल गरेर केही गाडी चलायौं,’ उनले भने, ‘निरन्तरता दिन सकेको भए वीरेन्द्रनगरका बासिन्दा र बाहिरबाट आउनेलाई सहज हुन्थ्यो । हामी घाटामा गयौं, नगरपालिकाले आश्वासन मात्र दियो । ’ व्यवसायीहरूलाई घाटा भएपछि नगरपालिकासँग आवश्यक सहयोगका लागि आग्रह गरे पनि वास्ता नगरेको उनको आरोप छ ।

‘नगरबस चलाउन नसकिने भएपछि हामीले नगरपालिकालाई दुईपटक भन्यौ । उहाँहरू (नगर पादधिकारी) ले इलेक्ट्रिक गाडी ल्याएर चलाउनू, ब्याज अनुदानमा सहयोग गरौंला वा साझेदारी गरौंला भन्नुभयो,’ सापकोटाले भने, ‘कुरा हुँदा सहयोग गर्छौं, कार्यपालिकाबाट निर्णय गर्छौं भन्नुहुन्छ अनि त्यसै हराउनुहुन्छ ।’ वीरेन्द्रनगर नगरपालिकाले नगर बस सञ्चालन गर्ने योजना ल्याएपनि त्यसलाई सहयोग पुग्नेगरी नीजि क्षेत्रले साझेदार गरेको थियो ।

तर, बन्द हुने अवस्थामा भने नगरपालिकाले सहयोग नगरेको उनिहरुको गुनासो छ ।उनका अनुसार नगरबस सेवा सुरू हुँदा इन्धनको मूल्य र यात्रुको सम्भावित चाप विचार गरेर भाडादर कायम गरिएको थियो । इन्धनको मूल्य बढ्दै गएपछि भाडाले इन्धनको खर्च पनि नउठ्ने भएपछि नगरबस बन्द गर्न बाध्य भएको उनले बताए । इन्धन, चालक र सहचालकको पारिश्रमिक तथा अन्य सञ्चालन खर्च उठ्न नसकेको सापकोटाको भनाइ छ ।

नगरपालिकाले व्यवसायीलाई केही सहयोग गरेको भएमा नगर बस चलाउन सकिने उनको भनाइ छ । अटोरिक्साले सिर्जना गरेको समस्या अन्त्य गर्न नगरपालिका, व्यवसायी र यात्रुको सहकार्य आवश्यक रहेको उनको भनाइ छ । यसो हुन नसक्दा नगरबस बन्द भएको उनको निष्कर्ष छ। वीरेन्द्रनगर नगरपालिकाले अटोरिक्सा र ई–रिक्सा सञ्चालन तथा व्यवस्थापन कार्यविधि बनाएको छ। कार्यविधिमा भाडादर तोकिएको छ ।

अटोरिक्सा र ई–रिक्साले न्यूनतम भाडा २० रुपैयाँ लिई प्रतिकिलोमिटर पक्की सडकमा ८ रुपैयाँ र कच्ची सडकमा १२ रुपैयाँ थप्न पाउने प्रावधान छ। रिक्सा चालकले कार्यविधिविपरीत मोलमोलाइमा भाडा लिने गरेका छन् । वीरेन्द्रनगरमा यात्रुको चाप बढ्दै गएको भए पनि नगरपालिकाले यातायात व्यवस्थित गर्न नसेकेको गुनासो व्यवसायी र सर्वसाधारण यात्रुहरूको छ ।

नगरबस सञ्चालनका बारेमा नगर कार्यपालिका र अन्य बैठकमा कुरा उठ्ने गरेको भए पनि ठोस निर्णय नभएको नगरपालिकाका सूचना अधिकारी उत्तमप्रसाद आचार्यको भनाइ छ । व्यवसायीले नगरबस चलाउन चाहेपछि नगरपालिकाले पनि आफ्नोतर्फबाट पहल गरेको हो तर दिगो बनाउन नसकिएको उनले बताए । उनले नगरपालिका आफैंले नगरबस चलाउने कुरा पनि उठेको र छलफल पनि चलिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० चैत १८ गते आइतबार