२०८३ वैशाख २६ , शनिबार

कोरोनाले वीरेन्द्रनगरको घरजग्गा खरिदबिक्रीमा कमी



कोरोनाको त्रास र त्यसपछि गरिएको लकडाउन र निषेधाज्ञाका कारण सुर्खेतको घरजग्गा कारोवारमा मन्दी आएको छ। दैनिक सयौं जमिन कित्ताकाट भै खरिदबिक्री हुने गरेकोमा हाल कित्ताकाट हुने संख्या घट्दै गएको छ।
वीरेन्द्रनगरमा जग्गा खरिदबिक्री सम्वन्धी कारोवारो गर्दै आएका टेकेन्द्र गिरीले कोरोनाको कारण जग्गा किन्ने मानिस नै नभेटिएको वताए । ‘पहिले महिनामा १६/१७ वटा कित्ता पास गर्थ्यौ, अहिले महिनामा एउटै कित्ता जग्गा कारोवारो मिलाउन पनि गार्‍हो छ,’ उनले भने। उनले सुर्खेत उपत्यकामा १ हजार वढीको संख्यामा जग्गा दलाली गर्नेहरु भएको वताए। पेशा नै जग्गा खरिदबिक्री गर्ने वनाएकाहरुको संख्या करिब १५० जना भएको उनले अनुमान गरे । ८०% जग्गा कारोवारी जनशक्ति कमिशनवाटै टिकेको भन्दै केही ठूला कारोवारीहरुले अफिस नै स्थापना गरेर फुलटाईम कर्मचारी मार्फत काम गरिरहेको उनले वताए।
घरजग्गा खरिदबिक्री गर्ने उद्देश्यले मानिसहरु कम संख्यामा आउने गरेको नापी शाखा सुर्खेतका कार्यालय प्रमुख राजेन्द्र थापाले वताए । ‘कित्ताकाट गर्नेहरुको संख्या अहिले निकै कम छ, दैनिक २०- २५ को संख्यामा होला,’ थापाले भने। कोरोना रोग आउनु अघि १५० को संख्यामा हुने गरेको कित्ताकाट अहिले घटेको उनले वताए। सरकारले वर्षको १ पटक मात्रै कित्ताकाट गर्न पाईने नियम वनाएसंगै जमीन खण्डिकरण रोकिएको र पहिलेजस्तो कित्ताकाट हुन छाडेको उनले जानकारी दिए।
मालपोत कार्यालय सुर्खेतका कार्यालय प्रमुख लक्ष्मी खत्रीले कार्यालयले अहिले दैनिक ५० वटा मात्रै टोकन लगाउने गरेको वताईन। ती मध्ये वैक तथा वित्तीय संस्थावाट ऋण लिनेहरुको संख्या नै वढी भएको उनले जानकारी दिईन। सुर्खेतमा जग्गा खरिदबिक्री गर्ने कम्पनी त्यति सक्रिय नभएकोले आफु कहाँ जग्गा पास गर्न आउदा जग्गाधनी र खरिदकर्ता आफै उपस्थिति हुने गरेको उनले वताईन। कोरोना अघिको तुलनामा अहिले जग्गा किनवेचमा कमी भएको हुनसक्ने उनले अनुमान गरिन।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १ देखि वडा नं १२ सम्मका जमीनहरु प्लटिङ् गरि वेच्न थालिएको धेरै समय भएको छैन । खासगरी सदरमुकाम, स्वच्छ हावापानी र कर्णाली प्रदेशको ढोका यो ठाउँ भएकोले मानिसहरु सुविधाका लागि यहाँ वस्ती सर्न रुचाउछन्।
उपत्यकामा वस्तीको लामो ईतिहास छैन। २०२२/२३ सालतिर औलो उन्मुलन पश्चात् उपत्यकामा वस्ती वस्न सुरु गरेको थियो। राजा वीरेन्द्रले विकास क्षेत्रको अवधारणा ल्याएपछि सुर्खेत मध्यपश्चिम विकास क्षेत्रको सदरमुकाम वन्यो। माथेमा प्लान वमोजिम उपत्यकालाई दुई भागमा वाडियो। राजमार्गको दक्षिण भाग खेतीयोग्य र उत्तरपट्टिको भाग वसोवासका लागि तोकियो। राजमार्ग उत्तरपट्टिको भागलाई वीरेन्द्रनगर नामाकरण गरि १२ वडामा विभाजन गरिएको थियो।
५० को दशक पछि देशमा भएको माओवादी द्वन्दका कारण उपत्यकाको जग्गा किनवेच वढ्दै गयो। राजमार्गको उत्तरपट्टिको जमिन मात्रै आवासको लागि प्रयोग हुने र दक्षिणतर्फको भागलाई ग्रिनजोन वनाउने माथेमा प्लान हाल पूर्णरुपले निष्कृय वनाईएको छ।

प्रकाशित मिति : २०७७ असोज ६ गते मंगलबार