२०८३ वैशाख ५ , शनिबार

मिसन ८४ रास्वपाका लागि : प्रवक्ता अधिकारी



रास्वपाका कर्णाली प्रदेश सचिव एवम् पार्टी प्रवक्ता हरि प्रसाद अधिकारी

सुर्खेत । २०३७ सालमा अछाम जिल्लामा जन्मेका हरिप्रसाद अधिकारी हाल चौकुने गाउँपालिका –५ तोस्रामा स्थायी बसोबास गर्छन । ग्रामीण विकास र अङ्ग्रेजी विषयमा स्नाकोत्तर गरेका अधिकारी चार महिना अघि नेकपा एमाले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए।

२०८१ साउन १५ गते वीरेन्द्रनगरमा भएको पहिलो सम्मेलनबाट प्रदेश सचिव एवम् पार्टी प्रवक्तामा सर्वसम्मत चयन भएका छन्। समसामयिक राजनीति र विकास निर्माणका बारेमा सिद्धदर्शन दैनिकका समाचार प्रमुख कुलेन्द्र शाहीले गरेको कुराकानीको सारसंक्षेप 

प्रश्न : भर्खर रास्वपाको प्रदेश भेलाबाट नयाँ कमिटी चयन भएको छ। पदाधिकारी चयन प्रती सन्तुष्ट हुनुहुन्छ ?

उत्तर : पार्टीका केन्द्रीय सभापति रवि लामिछाने र महामन्त्री कविन्द्र बुर्लाकोटीको उपस्थितिमा गठन भएको प्रदेश समिति आफैमा एतिहासिक र कर्णालीको भविष्यसंग जोडिएकोले असन्तुष्टि हुनुपर्ने कुनै कुरा छैन । यो त गौरवपूर्ण इतिहास रचिएको दिनको रूपमा लिन सकिन्छ ।

प्रश्न : रास्वपा कर्णाली प्रदेश भेलामा कति प्रतिनिधी सहभागी थिए रु प्रतिनिधी चयनको आधार के बनाइएको थियो ?
उत्तर : कर्णाली प्रदेशको एतिहासिक भेलामा ३ सय २२ जना प्रतिनिधिको रहनुभएको थियो । ११ जना सदस्य बराबर २ जना प्रतिनिधि चयन हुने केन्द्रले मापदण्ड तोकेको थियो । सोही अनुसार डोल्पा बाहेक अन्य सबै जिल्लाबाट वडा र पालिकाका प्रतिनिधि रहेका थिए।

प्रश्न : भेलामा खासै उत्साह देखिएन नि ! किन ? अध्यक्षमाथि सहकारी काण्डमा बयान चलिरहेकोले हो कि ?

उत्तर : पार्टीको आन्तरिक संगठनको भेला भएकाले संख्यात्मक रूपमा कार्यक्रम आयोजना हुन नसकेको हो । विगत र अरु पार्टीको भन्दा उत्साहजनक, जनअपेक्षा अनुसार रास्वपा प्रत्येक टोल टोलमा निर्माण भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको उत्साहपूर्ण लहरकाविरुद्ध पार्टी सभापति लामिछानेप्रति लगाएको आरोपहरु मिथ्या सावित हुँदै गइरहेको छ । समयक्रमले यसको जवाफ पनि दिनेछ। खासगरी पुराना दलहरुको यथास्थिति, पश्चगमन, देशको बेरोजगारी, राजनीतिकर्मी उत्पादन गर्ने र उनीहरूलाई साथ दिनेहरुले राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्धमा अफवाह फैलाउन जतिसुकै कुचेष्टा प्रकट गरेपनि यो सफल नहुने पक्का छ ।

रास्वपा परिवर्तन र विकासको आन्दोलन हो । सशस्त्र आन्दोलन कष्टपूर्ण जीवन निरर्थक आन्दोलन कुनैपनि विद्रोह विनै देश र समाजलाई बदल्न र विकशित गर्नसक्ने चेतहरुको शक्ति हो रास्वपा। जतिसुकै आरोपी लगाएपनि देशको नेतृत्व रास्वपा बाहेक ०८४ मा कसैले गर्न सक्दैन भन्ने हाम्रो निष्कर्ष हो ।

प्रश्न : जनताले परिवर्तनको चाहाना राखेका छन। परिवर्तनको आधार रबिभन्दा बालेनमा देखिएको हो कि ?
उत्तर : राष्ट्रिय स्वतन्त्र पार्टीको तुलना अन्य पार्टी र व्यक्तिसंग गर्न सकिँदैन । जुनकुरा इतिहासले प्रमाणित गरिसकेको छ । पार्टी दर्ता भएको चार महिनामै १२ लाख बढी मत र २१ जना सांसदहरु जिताउन सफल सभापति रवि लामिछाने यस युगको नायक हुन् ।

प्रश्न : रास्वपा पार्टीको भविष्य कस्तो देख्नुहुन्छ रु ०८४ को योजना के छ ?

उत्तर : कुनैपनि राजनीतिमा पार्टी र देशको भविष्य व्यक्तिको हातमा हुन्छ। जनता नै इतिहासका शक्तिशाली भगवान हुन् । ०८४ मा मुलुककै सबैभन्दा ठूलो राजनीतिक दल बनाउन र कर्णालीमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व स्थापित गर्न जनता आतुर भएका छन भन्ने कुरा बुझ्न सजिलै सकिन्छ । देश विकास, सुशासन, संवृद्धि र भ्रस्ट्राचार नियन्त्रणमा असफल पुराना राजनीतिक दलको अस्तित्व संकटमा पर्ने निश्चित छ ।

देश विकास सुशासन र आधुनिक नेपाल निर्माणका लागि रास्वपा बाहेक अरु कुनैपनि शक्तिले काम गर्न सक्दैनन् भने कुरा छोटो अवधिको सरकारमा सहभागिता र हाम्रा मन्त्रीले गरेका काम र संसदमा खेलिरहेका प्रभावकारी भूमिकाले पुष्टि गरिरहेको छ। मिसन ०८४ जनताको भाग्य लेखिने निश्चित छ ।

प्रश्न : आगामी ०८४ निर्वाचनमा प्रतिनिधी सभाका कति सिट जित्ने लक्ष्य छ ?
उत्तर : स्थानीय तह र प्रदेश तहको निर्वाचनमा भाग नलिएको दलले केन्द्रिय संसदमा २१ सिट ल्याई मुलुकको चौथो ठूलो दल भएको छ । मिसन ०८४ रास्वपा बाहेक अन्य राजनीतिक शक्तिका लागि निराशाजनक परिणाम आउनेछ । परिवर्तनको अपेक्षा राखेका देश विदेशमासमेत संगठन निर्माणका क्रममा रहेको रास्वपाप्रति जनताको ठूलो जनलहर फैलिरहेको छ ।

पुस्तौं-पुस्तादेखि शासन गरिरहेका दलहरुसँग विकासको कुनैपनि ठोस योजना नभएकोले जनताले रास्वपालाई पहिलो शक्तिमा पुर्याउने निश्चित छ । ०८४ पछि नेपालमा सुशासन संवृद्धि, रोजगारी र भ्रष्टाचार नियन्त्रणको युग सुरु हुनेछ ।

प्रश्न : तपाईंको पार्टीको सिद्धान्त र आगामी लक्ष्य के हो ?
उत्तर : रास्वपा नितान्त लोकतान्त्रिक विधिलाई मान्ने पार्टी हो । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । विधिको शासन,मानव अधिकार, समृद्धि, विकास, आधुनिकता, सामाजिक न्याय, समानता, सहभागिता, अग्रगामी परिवर्तन जस्ता मूल्य र मान्यताको जगमा रास्वपा अघि बढ्नेछ। प्रत्यक्ष सहभागितामूलक लोकतन्त्र, भ्रष्टाचार प्रति शून्य सहनशीलता, योग्यता र कर्मशीलता राष्ट्र निर्माणमा समर्पणता रास्वपाको दर्शन र प्रतिबद्धता हो ।

प्रश्न : ८० समाजवादी, पूँजीबाद या साम्यवादी रु कहानेर तपाईंहरुलाई भेट्ने ?

उत्तर : नेपालको वर्तमान भू परिस्थिति र विश्व खुल्ला बजारले पुँजीवादी व्यवस्थालाई प्रवर्धन गरिरहेको छ । देश भित्र असमानता गरिबी भ्रष्टाचारले सुशासन स्थापनामा बाधा पु¥याइरहेको छ । लोक कल्याणकारी राज्य व्यवस्था हाम्रो मान्यता हो। हाम्रो संविधानले समाजवाद उन्मुख अर्थव्यवस्थाको परिकल्पना गरेकोले हाम्रो आफ्नै मौलिक समाज निर्माणका लागि न्यायपूर्ण र समानतामा आधारित अर्थव्यवस्था हाम्रा प्रतिवद्धता हुन।

प्रश्न : प्रदेशमा पार्टीको अवस्था के छ ?
उत्तर : कर्णाली प्रदेशमा संगठन निर्माणको क्रममा छौँ । अनलाइनका माध्यमबाट पार्टी सदस्यता भर्ने प्रावधानका कारण कर्णाली प्रदेशको दूरदराजसम्म इन्टरनेटको पहुँच नभएकोले अलि समस्या छ। तरपनि रास्वपाप्रति जनताको जनलहर बढिरहेको छ केही समयपछि ठूलो शक्तिका रुपमा विकसित हुँदैछौं । हाम्रो संगठन प्रदेशमा भर्खरै गठन भएको छ । यसपछि हामी जिल्ला स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र र वडा तहसम्म हाम्रा पार्टीका संगठनहरु निर्माण गर्नेछौं। हाम्रो पार्टी जनवर्गीय संगठन निर्माणको मान्यता राख्दैन ।

जनवर्गीय संगठनहरु निर्माण गरेर हामीले सुन्दर भविष्यको पुस्तालाई कमजोर मात्रै होइन असक्षम बनाउने प्रयत्नमा पुराना दलहरू लागिरहेकोले यसतर्फ सचेत रहन हामी सबैलाई अनुरोध गर्दछौ । कुनैपनि पार्टीका जनवर्गीय संगठनमा सहभागी नभई देश निर्माणको अभियानमा लामबद्ध हुनको लागि हामी कर्णालीवासीलाई अपिल गरिरहेका छौं । कर्णाली आफैमा प्राकृतिक स्रोत साधन जडीबुटी प्राकृतिक सौन्दर्यता पर्यटन लगायत जल जमिन खनिज तत्वहरुले धनी छ।

पुराना परम्परागत र एजेन्डाविहीन राजनीतिक दलहरुले लामोसमयसम्म नेतृत्व गरेकाले कर्णाली विकसित हुन सकेन । अब हामी ०८४ मा राष्ट्रिय स्वतन्त्र पार्टीमा क्षमतावान, योग्य, कर्मशील र समाजलाई बुझेका कैयौं मान्छेहरु नेतृत्वमा ल्याउने छौ। र, कर्णाली अब राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मा हुनेछ । विकसित कर्णाली समृद्ध कर्णालीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले खाका निर्माण गर्नेछ भन्ने हामीले अपेक्षा राखेका छौँ ।

प्रश्न :संगठन विस्तारको योजना के छ ?
उत्तर : कर्णाली प्रदेशको पहिलो भेलाले प्रदेश कार्यसम्पादन समिति सर्वसम्मत ढंगले आदरणीय नेता मदन खड्काको नेतृत्वमा नौ सदस्य समिति चयन गरेको छ । हिजो र आज बसेको पहिलो र दोस्रो बैठकले कर्णाली प्रदेशमा संगठन निर्माणको योजना बनाएको छ। अब हामी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेला पछि कर्णालीका १० जिल्लामा जिल्ला समितिहरू, सबै जिल्लाका पालिका समितिहरू र वडा समितिहरु गठन गर्नेछौँ ।

र, रिक्त रहेका स्थानीय तहको निर्वाचनमा सशक्त उम्मेदवारहरु उठाउने योजना बनाएका छौं । हामी आजैबाट सबै कर्णालीवासीलाई के अपिल गर्न चाहन्छौं भने एक घर एक पार्टी सदस्यता को लागि राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिन अनुरोध गर्दछौं। यो कर्णाली अब कुनै जनताका कारणले पछाडि परेको होइन। पुराना पार्टीले कर्णालीलाई चिन्न सकेनन्, कर्णालीको शक्तिलाई पहिचान गर्न सकेनन् र कर्णालीका एजेण्डाहरुलाई स्थापित गर्न सकेनन् विकासको रोडम्याप पनि बनाउन सकेनन् ।

अब राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई या बौद्धिक जमातहरुले कर्णालीलाई अबको कर्णाली होइन कि आधुनिक र समृद्ध कर्णाली निर्माणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिशाबोध गर्नुहुनेछ र हरेक घर घरमा राष्ट्रिय स्वतन्त्र पार्टीका इमान्दार क्रियाशील र सक्षम युवा लगायत महिला हरुले भूमिका निर्वाह गर्नुहुनेछ । कर्णालीको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नको लागि जनताको साथ समर्थन हुनेछ । ०८४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका योग्य सक्षम क्रियाशील कर्मशील, सुशासनप्रति प्रतिबद्ध, बौद्धिक राजनीतिक नेतृत्वहरु स्थापित हुनेछन् र कर्णालीको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ र एउटा आधुनिक विकसित युग हामीले कर्णालीबाट थालनी गर्ने गरी हाम्रो संगठन निर्माणको योजना बनाएका छौं ।

प्रश्न : कर्णाली राजमार्ग विगत ३/४ दिनदेखि अवरुद्ध छ । सरकारलाई खबरदारी गर्ने र जनताको सास्ती हटाउन तपाईंको पार्टीको भूमिका के छ ?
उत्तर : कर्णाली राजमार्गलाई राजमार्गको रूपमा चिनाउनको लागि र बनाउनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका माननीयहरुले सिंहदरबारमा, संसद भवनमा आफ्नो आवाज बुलन्द गरिरहेको तपाईहरुलाई जानकारी नै छ। सरकार केवल बिचौलियाहरूको मात्रै नहोस् भन्ने हाम्रो कामना छ । मिसन ८४ भनेर अन्य दलहरुको एजेन्डा अघि सार्नु हास्यास्पद हो ।

किनकी प्रदेश सरकार स्थानीय सरकार र संघीय सरकार आज तिनै दलहरुले नेतृत्व गरिरहेका छन् । ८४ सम्मको लागि राज्यको स्रोत साधन उनीहरुसँग भइरहेको बेलामा ८४ भन्नु जनताप्रतिको धोका हो । मिसन ८४ त राष्ट्रिय स्वतन्त्र पार्टीका लागि मात्रै हो । त्यसकारण कर्णाली राजमार्ग मात्रै होइन यहाँको हवाई मार्ग यहाँका आन्तरिक सडकहरु खानेपानी सिँचाई अन्य विकासका अन्य पूर्वाधारहरूको विकास गरिनेछ।

यस्तो अवस्थामा अब नेतृत्वमा रहेका शासनमा रहेका दलहरुले जवाफमा संगठनहरूलाई देखाउने दाँत मात्रै नहोस् । अब कर्णालीका जनताहरू दुर्गम पिछडिएका अशिक्षित मात्र होइनन् सचेत भइसकेका छन् भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो कर्णाली भेलाले पुष्टि गरेको छ । त्यसकारण हामी सरकारलाई अपिल र अनुरोध गर्न चाहन्छौं कि कर्णालीको विकासको खाका अब राष्ट्रिय स्वतन्त्र पार्टीले तयार गर्दैछ ।

प्रकाशित मिति : २०८१ भदौ १७ गते सोमबार