
सुर्खेत । शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल एवम् पर्याप्त भौतिक पूर्वाधार भएको पूर्वी सुर्खेतको एक मात्र विद्यालय नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा यसै शैक्षिक सत्र २०८१ देखि कक्षा ११ मा विज्ञान सङ्काय पढाई हुने भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द वलीको अध्यक्षता एवम् शिक्षक अभिभावक सङ्घका अध्यक्ष मेनुका बिकको उपस्थितिमा एवं शिक्षक अभिभावक सङ्घ र शिक्षक स्टाफको संयुक्त बैठक बसेर आज उक्त निर्णय गरिएको विद्यालयका सूचना अधिकारी कृष्ण प्रकाश आरसीले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक ढाल बहादुर खत्रीको प्रस्तावमा उक्त निर्णय पारित भएको हो । आज विद्यालयमा बसेको उक्त बैठकले तीन वटा महत्त्वपूर्ण निर्णय गरेको छ। जसअनुसार,साधारण धारतर्फ विज्ञान विषय पढ्न चाहने विद्यार्थीका लागि यसै शैक्षिक वर्षदेखि कक्षा ११ मा निःशुल्क अध्यापन र आवासको व्यवस्थासहित भर्ना गर्ने पहिलो निर्णय गरिएको हो ।
यसैगरी भदौ ११ गतेदेखि (१९ गते सम्म) सञ्चालन भएको प्रथम त्रैमासिक परीक्षाको समीक्षा कार्यक्रम विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र शिक्षक सहितको सहभागितामा असोज ८ गते भित्र गरी सक्ने अर्को निर्णय गरिएको छ । यस्तै छात्र होस्टेलको वार्डेनको जिम्मेवारी कृषि प्रशिक्षक महेशदत्त चौलागाईंलाइ दिने निर्णय गरिएको सुचना अधिकारी आरसीले जानकारी दिए ।
यता विद्यालयका प्रधानाध्यापक ढाल बहादुर खत्रीले विद्यालयले २०७५ सालमा नै विद्यालयले विज्ञान सङ्काय पढाउने अनुमति प्राप्त गरे पनि आर्थिक सुनिश्चितता नभएको अहिलेसम्म सङ्काय सञ्चालन गर्न नसकिएको गुनासो गरे । ‘अहिलेसम्म आर्थिक सुनिश्चितता नभएकाले विज्ञान सङ्काय सञ्चालन गर्न सकिएको थिएन,अहिले नमुना शैक्षिक तथा व्यवस्थापकीय अनुदान (पालिका मार्फत) आउने सुनिश्चितता भएपछि विज्ञान सङ्काय सञ्चालन गर्न लागिएको छ ।’ उनले भने, सोही अनुदान प्राप्त हुने भएपछि कक्षा ११ मा साधारण धारतर्फ विज्ञान सङ्काय अध्ययन गर्न आउने विद्यार्थीको लागि भर्नासहित अध्यापन र आवासको व्यवस्था निःशुल्क गरिएको छ ।