
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्याबारे पार्टीको धारणा केन्द्रीय समितिको बैठकपछि तय गर्ने बताएका छन् । समस्या समाधानका लागि पहलको आग्रहसहित भेटघाटका लागि आएको सर्वदलीय प्रतिनिधिमण्डलसँग बिहीवार कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यो निर्णय कार्यान्वयनमा समस्या देखिएकाले सरकार अदालतमा भ्याकेटमा जाँदा ठीक हुने बताए । सर्वदलीय भेटमा सहभागीहरूले नदी किनाराका जग्गा छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलापछि काठमाडौंमा ठूलो समस्या शुरू भएको बताएका थिए । अदालतको आदेशअनुसार काठमाडौंको नदी, खोला र राजकुलोसमेत दायाँबायाँ थप २०/२० मिटर छाड्नुपर्दा दशौं हजार घरपरिवार विस्थापित हुने र पशुपतिनाथ मन्दिर पनि सार्नुपर्ने अवस्था आउने बताए ।
काठमाडौं महानगरपालिकाका प्रमुख ९मेयर० बालेन शाहले अदालतको आदेश कार्यान्वयन गर्ने संकेत गरेपछि थप समस्या आएको भन्दै उनीहरूले यो फैसला कार्यान्वयन भएमा आर्थिक रूपमा अराजकता पैदा हुने बताए ।आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर भ्याकेटमा जान सुझाव दिएको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरिसकेको जानकारी गराउँदै प्रतिनिधिमण्डलका सदस्यहरूले प्रमुख प्रतिपक्ष दलका नेता र पार्टी अध्यक्षको रुपमा प्रचण्डलाई भेट्न आएको बताएका थिए ।
प्रतिनिधिमण्डलमा सत्तारुढ दल नेकपा (एमाले)का नेता राजन भट्टराई, काठमाडौं महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यलगायत सहभागी थिए । सत्तारुढ दलका नेता–कार्याकर्ताले प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्नुलाई नदी किनाराको जग्गा प्रकरण झन् पेचिलो बन्दै गएको बुझ्न सकिन्छ ।