
सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले चैत २६ गते वीरेन्द्रनगरमा जनजागरण सभा गर्ने भएको छ । एमाले सुर्खेतले आज पत्रकार सम्मेलन गर्दै ‘लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा ऐक्यवद्धता जनाऔं, वृहत् जनप्रर्दशनसहितको जागरणसभामा सहभागी बनौं’ भन्ने मूल नाराका साथ एमालेले सभा गर्न लागेको हो ।
सभालाई एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए । अध्यक्ष देवकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध षडयन्त्र गर्नेहरूलाई सबक सिकाउन जागरण सभा आयोजना गरिएको बताए ।
‘सरकारमा रहेरपनि आवश्यक पर्दा सडकमा जानुपर्ने अवस्थालाई आत्मसाथ गर्दै एमालेले प्रतिक्रान्तिकारी गतिविधिहरूलाई परास्त गर्ने संकल्प गरेको छ । नेपाली जनताका लागि कुनैपनि प्रकारको निरंकुशता, पश्चगमन र वंशगत आधारमा सामन्तीतन्त्र अस्वीकार्य छ ।’, अध्यक्ष देवकोटाले भने, ‘नेपालको संविधान २०७२ जारी भइसकेपछि जनताका हक अधिकार संस्थागत रूपमा कार्यान्वयन भइरहेको अवस्थामा मुलुकमा फेरि देशीविदेशी शक्तिहरूले गणतन्त्र र संविधान विरोधी प्रतिगामी षडयन्त्रहरू गर्न खोजिरहेका छन् ।,’
यसप्रकारका अराजकता र मुलुकलाई अस्थिर बनाइराख्ने क्रियाकलापका विरुद्ध नेकपा (एमाले) देशभर जनजागरण अभियानमा जुटिरहेको छ ।’ जागरणसभामा लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि दश हजार बढी जनसमुदायको सहभागिता रहने अध्यक्ष देवकोटाको दाबी छ । उक्त सभा पिपलचौतारामा दिउँसो २ बजे हुनेछ भने त्यसअगाडि मंगलगढी चोकबाट १ बजे ¥याली निकालिने प्रदेश इन्चार्ज इन्चार्ज गोरख बोगटीले जानकारी दिए ।