
सुर्खेत । श्रमिक दिवसको अवसरमा अन्तरक्रिया तथा वनभोज कार्यक्रम गरिएको छ । प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतको आयोजना र प्रदेश समितिको समन्वयनमा १३६ आँै अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रममा पत्रकारको हकहितका विषयमा उठान गर्नुपर्ने सवाल, संगठनको हितका लागि गर्नुपर्ने कार्यविवरण लगाएतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य विनोद लम्सालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पत्रकारको हकहितका लागि कार्यक्रम समावेश गर्न सरकारलाई सुझाव दिनुपर्ने बताए । उनले पत्रकारको हकहितका लागि बन्नुपर्ने नीति नियमका विषयमा समेत सम्बन्धीत क्षेत्रको ध्यानाकर्षण गर्नुपर्ने जनाए ।
नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश कोषाध्यक्ष इश्वरराज अधिकारीले महासंघले पत्रकारको पेसागत सुरक्षाका लागि विभिन्न कार्यक्रम गरिरहेको बताए । पत्रकारका लागि आवश्यक पर्ने तालीम लगायतका कार्यक्रम सञ्चालन गरिरहेको भन्दै उनले पत्रकारलाई कसरी व्यवसायिक बनाउने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुशिल खड्काले पत्रकारिता पेसालाई मर्यादित बनाउन लागिपरेको बताए ।
महासंघले बेला–बेलामा तालिमहरुको आयोजना गर्ने तथा विभिन्न नीति निर्माणका सवालमा वकालत गर्ने गरेको उनको भनाइ छ । पत्रकार महासंघ सुर्खेतका सदस्य प्रभा रावतले महिलालाई कसरी पेसमा टिकाउने भन्ने विषयमा सोच्नुपर्ने बताइन् । पछिल्लो समय ९५ प्रतिशत महिला पत्रकार पेसाबाट पलायन भएको हुँदा यस विषयमा गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको उल्लेख गरिन् ।
आफूहरु समेत पेसामा निर्धक्क रुपमा काम गर्न नसकिरहेको उनको भनाइ थियो । नेकपा एमालेका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले पत्रकारिता पेसा समाजको ऐना भएको बताए । पेसालाई मर्यादित बनाउन प्रेस चौतारीको ठूलो भूमिका हुने उनको भनाइ छ । अग्रपंक्तिमा रहने पत्रकारको सुरक्षाका विषयमा समेत पार्टी जानकार रहेको र संगठनको संरक्षणका कार्यक्रम राखिएको उनले बताए ।
प्रेस चौतारी नेपालका प्रदेश इन्चार्ज यामप्रसाद शर्माले पत्रकारहरुको हकहितका लागि संगठनले काम गर्ने बताए । पछिल्लो समयमा भइरहेको बढ्दो विकृति रोक्ने र पत्रकारहरुलाई कसरी पेसाप्रति टिकाईराख्ने भन्ने विषयमा संगठनले काम गरिरहेको उनको भनाइ छ । प्रेस चौतारी नेपाल सुर्खेत जिल्ला समितिका अध्यक्ष मुना हमालले संगठनले केही नयाँ कामको थालनी गर्न लागेको बताइन् ।
पत्रकारको संरक्षण र सुरक्षाका लागि अक्षयकोष निर्माण, विभिन्न तालीमको आयोजना, पेसाप्रति टिकाइराख्न योजना निर्माणको काम भइरहेको उनको भनाइ थियो । पत्रकारका हकहितका विषयमा छलफल गर्ने उद्देश्यले दैलेखको गुराँस गाउँपालिकामा अन्तरक्रिया तथा वनभोज कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश चौतारीसँग आवद्ध विभिन्न जिम्मेवारीमा रहेका पत्रकारहरुको सहभागिता रहेको थियो ।