२०८३ वैशाख ८ , मंगलबार

४० वर्ष कटेका नागरिकको स्वास्थ्य परीक्षणमा कर्णाली सरकार



सुर्खेत । कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम शुभारम्भ गरेको छ । ४० वर्ष कटेका प्रदेशभरका नागरिकमा नसर्ने रोगहरू मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगको निःशुल्क परीक्षणका साथै उपचार गर्ने उद्देश्यले कार्यक्रमको शुभारम्भ भएको हो । आइतबार सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ स्थित गुमी स्वास्थ्य चौकीमा शिविरको उद्घाटन गरेका हुन् ।

कर्णालीका १० वटै जिल्लाका सबै स्थानीय तहमा नसर्ने रोगहरूको नियमित परीक्षण तथा उपचार सेवा सुरु भएको मन्त्री भण्डारीले बताए । ‘पछिल्लो समय अस्वस्थ खानपान र जीवनशैलीका कारण कर्णालीमा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ,’ उनले भने,‘४० वर्ष माथिको जनसङ्ख्यामा नसर्ने रोगको परीक्षण गर्नुको मुख्य उद्देश्य कर्णालीको समग्र स्वास्थ्यको अवस्था पत्ता लगाउने लक्ष्य रहेको छ ।’

प्रदेश सरकारद्वारा महत्वका साथ अघि बढाइएको कार्यक्रममा ४० कटेका महिला तथा पुरुषमा नसर्ने रोगको जोखिम कम गर्न स्वास्थ्य परीक्षण प्रभावकारी हुने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक मानकुमारी गुरुङले बताइन् । ‘नेपालमा नसर्ने रोगहरू दुई तिहाइले बढ्दै गएको र यसबाट कर्णाली पनि अछुतो रहेको छैन,’ उनले भनिन्,‘विशेषज्ञ सेवा नपुगेका क्षेत्रका नागरिकको निःशुल्क स्वास्थ्य जाँच गरी अवस्था अनुसार उपचारसमेत गरिनेछ ।’

आगामी आर्थिक वर्षबाट कर्णालीका ७९ वटै स्थानीय तहसँग समन्वय गरी वडा स्तरबाटै परीक्षणलाई नियमित बनाइने उनको भनाई छ । उनले ४० वर्ष कटेका नागरिकहरूलाई अभियानमा ढुक्कले सहभागी भएर स्वास्थ्य परीक्षण लिन आग्रह गरे । आजदेखि सुरु भएको शिविर २३ गतेसम्म सञ्चालन हुनेछ । कर्णाली प्रदेश सरकारले उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका बिरामीलाई लक्षित स्वास्थ्य परीक्षण अभियान अगाडि बढाएको छ ।

सरकारले ४० वर्षका वर्षमाथिका नागरिकमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्या देखिने भएकाले अभियान सञ्चालन गरेको छ । यस्तै गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले यहाँका नागरीकमा ७०र७१ प्रतिशत नसर्ने रोगबाट मृत्यु हुने गरेको बताए । उनले बिरामीहरूको जाँच तथा नगरपालिकामा बिरामीको अभिलेख समेत हुने भएकाले शिविरको आयोजना गरिएको बताए ।

उनले सो शिविरमा नीति तथा कार्यक्रममा सहयोग पुग्ने विश्वास लिएको बताए । यस्तै शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका ७२ वर्षीय वीरबहादुर घर्तीले हालसम्म निःशुल्क स्वास्थ्य जाँच नगरिएको हुँदा यस पटक गाउँमै शिविर भएकाले आफूलाई खुसी लागेको बताए । यस्तै ५० वर्षीय देविसरा खत्रीले दमको बिरामी भएको र आफू सो सम्बन्धी परीक्षण गर्न आएको बताइन् ।

उनले अहिलेसम्म गाउँमा निःशुल्क जाँच नलिएको तर अन्य मेडिकलहरूबाट पैसा तिरेर औषधी सेवन गरिरहेका बताइन् । उनले गाउँमै यससम्बन्धी शिविरको आयोजना भएको हुँदा खुसी व्यक्त गरिन् । उनका अनुसार उच्च रक्तचाप भएका बिरामीको मिर्गौला र मधुमेहको अवस्था पत्ता लगाउन प्रदेश सरकारले विशेष जोड दिएको छ ।

शिविरमा सहभागी बिरामीलाई नसर्ने रोग सम्बन्धी केही औषधि निःशुल्क उपलब्ध गराउने उनले जानकारी दिए । विश्वमा नसर्ने रोगबाट ७१, निम्न तथा मध्यम आय भएका देशहरूमा ८६ र नेपालमा ७० प्रतिशत मानिसको मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : २०८२ वैशाख २१ गते आइतबार