
सुर्खेत । उच्च अदालत सुर्खेतमा पाँच हप्ते सेवाकालीन तालिम सुरु भएको छ । न्याय सेवा तालिम केन्द्र काठमाडौंको आयोजनामा उच्च अदालत सुर्खेत तथा मातहतको जुम्ला इजलास, जिल्ला अदालतहरु र सरकारी वकील कार्यालयमा कार्यरत राजपत्र अनंकित प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरुको सहभागितामा तालिम वैशाख २१ गतेदेखि सुरु भएको हो ।
उच्च अदालत सुर्खेतका कायम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईको अध्यक्षतामा तालिम सुरु भएको उच्च अदालत सुर्खेतका शाखा अधिकृत खेमराज तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार सो तालिममा उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेल, रजिष्ट्रार विश्वजंग सिजापती तथा उपन्यायाधिवक्ता तुलसा भण्डारीसहित उच्च अदालत सुर्खेत, मातहतको जुम्ला इजलास, विभिन्न जिल्ला अदालतहरू तथा सरकारी वकील कार्यालयमा कार्यरत २५ जना कर्मचारीको सहभागिता रहेको छ ।
तालिमले कर्मचारीहरूको पेशागत क्षमता अभिवृद्धि गर्नुका साथै न्याय सम्पादन कार्यलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको अधिकृत तिमिल्सेनाले बताए ।