
सुर्खेत । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन (वाईसीएल) नेपाल कर्णाली प्रदेश समितिको सम्मेलन वैशाख २९ र ३० गते हुँदैछ । शनिवार बिहान योङ कम्युनिस्ट लिंग नेपालले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीरेन्द्रनगरको पिपल चौतारामा सोमवार दिउँसो १२ बजे सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको वाईसीएल कर्णाली प्रदेश संयोजक शोभाराम भण्डारीले जानकारी दिए ।
सम्मेलनको तयारी भव्य रुपमा भइरहेको बताउँदै भण्डारीले सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका ७१८ वडास्तरबाट १/१ जना प्रतिनिधि र ९९ सदस्यीय सम्मेलन आयोजक समितिसहित कुल ८१७ प्रतिनिधिको उपस्थित रहने बताए।
सम्मेलनले वाइसीएल कर्णाली प्रदेश समिति निर्वाचित गर्ने र आगामी नीति तथा कार्यक्रम पारित गर्ने तथा राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रतिनिधि प्रवेक्षकको छनोट गर्ने संयोजक भण्डारी जानकारी दिए। वाईसीएल नेपाल केन्द्रको तेस्रो सम्मेलन जेठ १७, १८ र १९ गते हुँदैछ ।